Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


भोटेकोशी बाढी: २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन


0
Shares

काठमाडौँ । २८१ जनाको शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।

रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते गएको विनाशकारी बाढीमा परी ज्यान गुमाएर काठमाडौँ ल्याइएको शव गोकर्णेश्वरमा व्यवस्थापन गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका वन क्षेत्रमा ती शव जमिनमुनि गाडेर सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो । उनका अनुसार विपद् प्रभावित रसुवा, धादिङ र नुवाकोटबाट ती शव काठमाडौँ ल्याइएको थियो । ती शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम तथा डिएनए परीक्षणका लागि नमूना सङ्कलन गरेपछि सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो ।

प्रहरीका अनुसार प्रत्येक शवबाट डिएनए परीक्षणका लागि आवश्यक नमूना सङ्कलन गरी शवलाई सुरक्षितरुपमा गाड्ने गरिएको छ । भविष्यमा पहिचान खुलेमा सम्बन्धित परिवारलाई शव हस्तान्तरण गर्न सकिने गरी आवश्यक विवरण र नमूना सुरक्षित राखिएको प्रहरी उपरीक्षक थापाले बताउनुभयाे ।

शव व्यवस्थापन गर्दा विशेष प्रकारको ‘एयरटाइट ब्याग’ प्रयोग गरी त्यसमा ट्याग नम्बर राख्ने गरिएको छ । ट्याग नम्बरका आधारमा शवको विवरण पहिचान गर्न सहज हुने गरी अभिलेखसमेत राखिएको छ ।

बाढीमा परी ठूलो जनधनको क्षति भएपछि विभिन्न स्थानबाट फेला परेका शवलाई पहिचान तथा डिएनए परीक्षणका लागि काठमाडौँ ल्याइएको हो । पहिचान हुन बाँकी शवको डिएनए नमूना सुरक्षित राखी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रचलित कानुन तथा मापदण्डबमोजिम दीर्घकालीन सुरक्षित संरक्षणको व्यवस्था अन्तिम विकल्पका रूपमा गरिने बताइएको छ ।

Skip This