Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


दसैँ–तिहारपछि जनता सरकारविरुद्ध सडकमा उत्रिन्छन्: वर्षमान पुन


559
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले वर्तमान सरकारविरुद्ध दसैँ, तिहार र छठपछि जनता सडकमा उत्रिने दाबी गर्नुभएकाे छ ।

नेकपाको गण्डकी प्रदेश सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पुनले सरकारको स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवार कार्यशैलीप्रति जनतामा आक्रोश बढ्दै गएको बताउनुभएकाे छ ।

उहाँले दसैँ, तिहार र छठपछि जनता स्वतःस्फूर्त रूपमा विद्रोहका लागि सडकमा आउने दाबी गर्दै त्यसको नेतृत्व र व्यवस्थापनका लागि पार्टी पंक्ति अहिल्यैदेखि तयारी अवस्थामा रहनुपर्ने बताउनुभएकाे छ ।

‘३५ वर्षमा के गरे भनेर प्रश्न गर्नेहरूको सरकारले रसुवा बाढीपछि उद्धार र राहतमा के गरे ? जनताको चुल्होमा ग्यास छैन, के गरे ? किसानलाई मल छैन, के गरे ? महँगीले आकाश छोएको छ, के गरे ?’ पुनले प्रश्न गर्नुभएकाे छ ।

उनले सरकारप्रति जनतामा व्यापक आक्रोश र निराशा बढेको दाबी गर्दै भने, ‘यो स्वेच्छाचारी, निरंकुश र असफल सरकारविरुद्ध जनतामा व्यापक आक्रोश र निराशा बढेको छ । दसैँ, तिहार र छठपछि जनता स्वतःस्फूर्त रूपमा विद्रोहका लागि सडकमा आउँछन् । हामीले त्यसको व्यवस्थापनका लागि आफूलाई तयारी अवस्थामा राख्नुपर्ने भएको छ ।’

सरकारको गलत रवैयाका कारण राष्ट्रियता र राष्ट्रिय स्वाधीनता समेत कमजोर हुँदै गएको पुनको दाबी छ । उहाँले राष्ट्रियता र स्वाधीनताको रक्षाका लागि जनता विद्रोहमा उत्रिने समय आएको बताउनुभएकाे छ ।

Skip This