काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायातको सेवा दिउँसोमा मात्र सीमित नभई राति समेत विस्तार गर्नुपर्ने बताउनुभएको छ।
ललितपुरमा शनिबार आयोजित काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । स्थानीय सरकारको महत्वपूर्ण दायित्वमध्ये यातायात सेवाको विस्तार पनि रहेको उल्लेख गर्नुभयो । उहाँले रात्रिकालीन बस सेवा सञ्चालनसँगै काठमाडौं उपत्यका अब दिउँसो मात्र नभई रातिसमेत चलायमान बन्ने बताउनुभएकाे छ। गत वैशाख १ गतेदेखि परीक्षणका रूपमा बुढानीलकण्ठ–ललितपुरको लगनखेल र विमानस्थल–चन्द्रागिरि रुटमा रात्रिकालीन बस सेवा सञ्चालन गरिएको बताउनुभयाे ।
कार्यवाहक प्रमुख डंगोलले पहिलो ९० दिनमै ६७ हजार यात्रुले सेवा लिएको बताउनुभएकाे छ। उहाँले सार्वजनिक यातायातलाई केवल आवतजावतको साधनका रूपमा मात्र नभई अवसर र पहुँचको माध्यमका रूपमा बुझ्नुपर्ने बताउनुभयो । नियमित कार्यालय समय बाहेक रातिसम्म काम गर्ने श्रमिक, विद्यार्थी, महिला तथा युवालाई सुरक्षित यातायात सेवाले सहज र सुरक्षित रूपमा घर फर्किने वातावरण बनाउने उहाँको भनाइ छ।
कार्यवाहक प्रमुख डंगोलले रात्रिकालीन सार्वजनिक यातायात सेवाले काठमाडौं महानगर मात्र नभई समग्र काठमाडौं उपत्यकाका विभिन्न शहरलाई आपसमा जोड्ने समेत बताउनुभयाे ।










प्रतिक्रिया दिनुहोस्