Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


संविधानलाई नागरिकको जीवनमा उतार्ने संकल्प गर्नुपर्नेमा राष्ट्रपति पाैडेलकाे जाेड


78
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौँ भने मात्र लोकतन्त्र बलियो हुने र संविधानले स्थापित गर्न चाहेका संकल्पहरू पूरा हुने बताउनुभएकाे छ।

राष्ट्रपति पौडेलले संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा राष्ट्रपति कार्यालयमा शनिबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएकाे हाे ।  उहाँले भन्नुभयाे,-‘हामीले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौँ भने मात्र लोकतन्त्र बलियो हुन्छ र संविधानले स्थापित गर्न चाहेका सङ्कल्पहरू पूरा हुन्छन्, यसका लागि आउनुहोस; आज हामी संविधानलाई भाषणमा होइन; नागरिकको जीवनमा उतार्ने सङ्कल्प गरौं ।’

राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्न हामीलाई व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक भएको उहाँको भनाइ छ। उहाँले संविधान कागजमा लेखिएका शब्द वा वाक्य सङ्ग्रहको लिखित दस्ताबेज मात्र नभइ यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा पनि भएको बताउनुभयाे । आजको दिन विपतको पीडासँगै संविधान प्राप्तिको उत्सव र आत्मसमीक्षाको पनि दिन भएको बताउनुभएकाे छ।

नेपालको संवैधानिक इतिहासमा आफूले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैँ लेख्ने नेपाली जनताको सात दशक भन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज ११ वर्ष पूरा भएको बताउनुभयाे। यो गौरवमय क्षणमा सबै भन्दा पहिले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे छ।

राष्ट्रपति पाडेलले आन्दोलनका क्रममा जेल, नेल, निर्वासनसहित अनेकाैं यातना सहने र जस्तै कष्टमा पनि अविचलित भई आफूद्वारा आफैँ शासित हुने परिवर्तनका पक्षधर एवम् लोकतन्त्रका योद्धाहरूलाई सम्मानसहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गर्नुभयाे।

Skip This