काठमाडौँ । भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
नयाँ पत्रिका दैनिकका पत्रकार थामी गत भदौ १० गतेदेखि सम्पर्कविहीन हुनुभएको थियो । दोलखाको कालीञ्चोक गाउँपालिका–२, बाबरेमा २०४२ साल जेठ १४ गते जन्मनुभएका थामीको प्रतीकात्मक शवमा उहाँका पिता डीलबहादुर थामीले दागबत्ती दिनुभयो ।
दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय थामीले कलमका माध्यमबाट गर्नुभएको योगदानको स्मरण गरिएको छ ।
पत्रकारितामा स्नातकोत्तर ४१ वर्षीय थामीले एचबिसी एफएम, सगरमाथा टेलिभिजन, एबिसी टेलिभिजन हुँदै नयाँ पत्रिकामा लामो समय काम गर्नुभएको थियो । उहाँले बागीश्वरी क्याम्पस र समृद्धि क्याम्पसमा पत्रकारिताको अध्यापन गर्नुका साथै पत्रकारिता प्रशिक्षण तथा लेखनमा समेत आफूलाई सक्रिय राख्नुभएको थियो ।
गोरखापत्र दैनिकको थामी भाषा पृष्ठका संयोजकसमेत रहेका टेकराज नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय समस्यका साथै नेपाल थामी समाजका पूर्वउपाध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का पूर्वकोषाध्यक्ष हुनुहुन्थ्यो ।
चीनको स्वशासित क्षेत्र सिचाङको केरूङमा भदौ १० गतेका निम्ति निर्धारित ‘साउथ एसिया रिसर्च सेन्टर इन सायथवेष्ट चाइना’ कार्यक्रममा सहभागी हुन पत्रकार थामी भदौ ९ गते साँझ आफ्नै मोटरसाइकलबाट रसुवाको धुन्चे हुँदै रसुवागढी पुग्नुभएको थियो ।
पत्रकार थामीको कुशको शवमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले महासङ्घको झण्डा ओढाउनुभएको थियो भने नेपाल थामी समाजका अध्यक्ष रणबहादुर थामीलगायतले श्रद्धाञ्जली व्यक्त गर्नुएको थियो ।
अन्त्येष्टिमा पूर्वमन्त्रीहरु पार्वत गुरूङ, आनन्द पोखरेल, रासस र नयाँ पत्रिकाका सम्पादकीय नेतृत्व, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, फोनिजका अध्यक्ष लक्की चौधरीसहित पत्रकारिता, सामाजिक, राजनीतिक, कानुन क्षेत्रका अगुवा र सहकर्मीहरुको उपस्थिति थियो । स्वर्गीय थामी राससकर्मी कालिका खड्काका श्रीमान् हुुनुहुन्छ ।









प्रतिक्रिया दिनुहोस्