काठमाडौं । लेखक प्रसिद्ध बहादुर पाण्डेद्वारा लिखित ‘प्रधानमन्त्री र समृद्धि’ नामक नयाँ पुस्तक सार्वजनिक गरिएकाे छ।
लेखक पाण्डेले नेपालको आर्थिक विकासमा देखिँदै आएको नीति र कार्यान्वयनबीचको दूरीलाई केन्द्रमा राखेर साेही पुस्तककाे रचाना गरिएकाे बताउनुभएकाे हाे । काठमाडौंमा सार्वजनिक गरिएको पुस्तकले नेपालमा विकासका लागि नयाँ योजना र नीति थप्नु मात्र पर्याप्त नभएको, भएका नीति तथा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर परिणाममा बदल्नुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएको छ।
पुस्तकमा नेपालका विकास योजनामा देखिने ढिलाइ, कमजोर समन्वय, जवाफदेहिताको अभाव र सरकार परिवर्तनसँगै प्राथमिकता फेरिने प्रवृत्तिलाई आर्थिक समृद्धिको प्रमुख चुनौतीका रूपमा विश्लेषण गरिएको हाे। लेखक पाण्डेले नेपालको समस्या सम्भावना र योजनाको अभाव भन्दा पनि ‘कार्यान्वयनको खाडल’ अर्थात् नीति र परिणामबीचको दूरी भएको बताउनुभएकाे छ।
पुस्तकको मुख्य अवधारणाका रूपमा प्रधानमन्त्री सेवा प्रवाह प्रणाली प्रस्तुत गरिएको हाे। प्रधानमन्त्रीको नेतृत्वमा सीमित तर महत्वपूर्ण राष्ट्रिय प्राथमिकता निर्धारण गर्ने, प्रत्येक प्राथमिकताको स्पष्ट जिम्मेवारी तोक्ने र नियमित रूपमा त्यसको प्रगति मापन गर्ने प्रणालीको प्रस्ताव पुस्तकमा गरिएको छ। नेपालको भौगोलिक अवस्थालाई पनि पुस्तकले आर्थिक विकासको महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरिएकाे हाे।
लेखक पाण्डेले भारत र चीनबीच रहेको नेपाललाई दुई ठूला अर्थतन्त्रबीचको ‘लिंक-स्टेट’ का रूपमा प्रस्तुत गर्दै सडक, हवाई सेवा, ऊर्जा प्रसारण, व्यापारिक नाका, डिजिटल कनेक्टिभिटी तथा लजिस्टिक्स पूर्वाधारलाई उत्पादन र बजारसँग जोड्नुपर्ने बताउनुभयाे। पुस्तकमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्वाधार निर्माण र आर्थिक प्रतिफलबीचको सम्बन्ध बुझाउने उदाहरणका रूपमा समेत प्रस्तुत गरिएको छ।
विमानस्थल निर्माण हुनु मात्रै पर्याप्त नभई नियमित अन्तर्राष्ट्रिय उडान, एयरलाइन्स, होटल, पर्यटकीय गतिविधि, प्रचार–प्रसार तथा यातायात लगायत समग्र पर्यटन इकोसिस्टम विकास गर्नुपर्ने पुस्तकमा विश्लेषण गरिएकाे छ। त्यस्तै, जलविद्युत्, कृषि, पर्यटन तथा लगानीका क्षेत्रमा नेपालले आफ्नो सम्भावनालाई व्यावसायिक र निर्यातमुखी प्रणालीमा बदल्नुपर्ने विषयलाई पनि पुस्तकमा समेटिएकाे हाे।
जलविद्युत्मा उत्पादनसँगै प्रसारण र बजार, कृषिमा उत्पादनसँगै प्रशोधन, ब्रान्डिङ र निर्यात तथा लगानीका क्षेत्रमा कानूनी र नीतिगत स्थिरतालाई महत्वपूर्ण मानिएको छ। ‘प्रधानमन्त्री र समृद्धि: नेतृत्वको खाका’ ले नेपालमा विकासकाे बारेमा हुँदै आएको ‘के गर्ने ’ भन्ने बहससँगै ‘गरेको कामबाट परिणाम कसरी सुनिश्चित गर्ने’ भन्ने प्रश्नलाई अगाडि ल्याउने प्रयास गरेको हाे।
पुस्तकले राजनीतिक नेतृत्व, सरकारी संयन्त्र र आर्थिक विकासबीचको सम्बन्धलाई कार्यान्वयनमुखी दृष्टिकोणबाट प्रस्तुत गरेको छ। लेखक पाण्डेको यो पुस्तक अहिले बजारमा उपलब्ध रहेकाे हाे।









प्रतिक्रिया दिनुहोस्