Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


नेपाल र बंगलादेशबीच आगामी चैतमा ३ खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुने


26
Shares

काठमाडाैं । नेपाल र बंगलादेशबीच आगामी चैतमा ३ खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड बीसीबीको संयुक्त पहलमा नेपालले बंगलादेशसँग तीन खेलको द्विपक्षीय टी-२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको हो । क्यानले ३ वटै खेल कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने जनाएकाे छ। पहिलो खेल मार्च २६ अर्थात् चैत १२ गते, दोस्रो खेल मार्च २८ अर्थात् चैत १४ गते र तेस्रो खेल मार्च ३० अर्थात् चैत १६ गते हुने भएका छन् ।

यो शृङ्खला नेपाली क्रिकेटका लागि ऐतिहासिक हुने क्यानले जनाएको हाे । आईसीसीको पूर्ण सदस्य अर्थात् टेस्ट राष्ट्रको टोलीले नेपाल आएर द्विपक्षीय शृङ्खला खेल्न लागेको यो पहिलो पटक हो । यसअघि नेपालले टेस्ट राष्ट्रसँग टी-२० अन्तर्राष्ट्रिय खेल खेले पनि ती खेलहरू नेपालबाहिर भएका थिए । नेपाल र बंगलादेशबीच यसअघि दुई वटा टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् ।

सन् २०१४ को टी-२० विश्वकपमा पहिलोपटक आमनेसामने भएका यी दुई टोलीबीच सन् २०२४ को टी–२० विश्वकपमा पनि प्रतिस्पर्धा भएको थियो । दुवै खेलमा बंगलादेश विजयी भएको थियो ।