Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


सरकार जेनजी आन्दोलनका घाइतेप्रति अनुदार ! (भिडियाे रिपाेर्ट)

घाइते र आफन्तकाे सरकारलाई प्रश्न: शहीदको बलिदानी र घाइतेको योगदान केका लागि ?

130
Shares

विजय नेपाली-संवाददाता

पोखरा। सुशासन र भ्रष्टाचारविरुद्ध युवा पुस्ताले गरेको जेनजी आन्दोलन पनि एक वर्ष पूरा भइसकेकाे छ।

आन्दोलनमा पोखिएको आक्रोशलाई थेग्न नसक्दा देशैभर गत वर्षकाे भदाै २३ र २४ गते मानवीय तथा भाैतिक रुपमा ठूलो क्षति भएकाे थियाे। गण्डकी प्रदेशमा पनि प्रदेशसभा भवनदेखि पोखरा महानगरपालिका र वडा कार्यालयहरुसम्म जलेका थिए । आन्दोलन भएको वर्ष दिनसम्म पनि राज्यले घाइतेप्रति अनुदार ब्यवहार देखाएको गुनासो पीडितहरुको छ ।

गत वर्षको जेनजी आन्दोलनका क्रममा पोखरामा ३ जनाले ज्यान गुमाएका थिए। ५६ जना घाइते भए भएका थिए। जसमध्ये ६ जनाको अवस्था गम्भीर थियो । महानगरपालिकाको कार्यालय अगाडि अश्रुँ ग्यास आखाँमा लागेका चोकबहादुर गुरुङले अहिले पनि आँखा देख्दैनन् । आफू आन्दोलनकै क्रममा घाइते हुँदा समेत राज्यले सहयोग नगरेको उनको गुनासो छ ।

देब्रे आँखा भन्दा तल्लो भाग सबै कुच्चिएका अर्का घाइते अनिस सापकोटा कुनै काम गर्न त के, दाँत समेत सफा गर्न कठिन अवस्थामा छन । त्यसमाथि नागरिकता समेत बनाउन नसक्दा झनै समस्या थपिएको छ। अनिस सानो छँदै बाबुले छाेडेर गएका कारण नागरिकता बनेको छैन । घाइतेकी आमा अम्बिका सापकोटा आफ्नो पीडा हुँदा हुँदै घाइते छोराको उपचार नहुुनु र राज्यले वेवास्ता गर्दा झनै पीडा थपिएको उहाँको गुनासो छ।

ढकबहादुर नेपाली पनि जेनजी आन्दोलनमै घाइते भएका थिए । उनको अहिले पनि आईसीयूमै उपचार भइरहेको छ । भाइ अस्पतालबाट घर जान चाहे पनि घरमा घाइतेका लागि आवश्यक पर्ने वेडदेखि विभिन्न मेडिकल सामान उपलब्ध नरहेको आफन्तको गुनासो छ । जेनजी आन्दोलनपछि देशमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बन्यो र निर्वाचन भयो । गत फागुन २१ गते भएकाे निर्वाचनमा मतदाताले यस पटक पूर्ण रुपमा नयाँ सरकार चुने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अत्याधिक मत दिएर पठाए ।

परिर्वतनका लागि आन्दोलनमा होमिएका घाइते र उनीहरुका आफन्तहरुले यतिबेला सरकारसँग प्रश्न गरिरहेकाे शहीदको बलिदानी र घाइतेको योगदान केका लागि ?

विस्तृत रूपमा भिडियाे रिपाेर्ट हेर्नुहाेस् :