Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


संघीय संसदका-दुवै सदनको बैठक आज पनि बस्दै (कार्यसूचीसहित)

बैठकमा नागरिक लगानी कोष र भुक्तानी तथा फर्स्यौटसहित ४ विधेयक पेश गरिंदै

195
Shares

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक बिहीबार पनि बस्दैछ ।

संसद सचिवालयले प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो १ बजे बस्ने जनाएकाे हाे । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे छ। अर्थमन्त्री वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको हाे।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एशियाली विधायिकी संस्थाहरुको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ । बैठकमा सभामुखले राष्ट्रिय सभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने भएकाे हाे ।

त्यस्तै, राष्ट्रिय सभाको बैठक पनि बिहीबार दिउँसो सवाँ १ बजे बस्ने भएकाे छ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्नुहुने भएकाे हाे।

राष्ट्रिय सभामा प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे छ।

सचिवालयले उक्त विधेयकमाथि सभामा छलफल गरी पारित गर्ने कार्यसूची रहेको जनाएको हाे।