Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


जेनजी आन्दोलन घटनाकाे बारेमा आयोगले गरेकाे सिफारिस तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग

'जेनजीको बलिदानलाई सत्तामा पुग्ने भर्‍याङ मात्र बनाउने अधिकार सरकारलाई छैन'

195
Shares

काठमाडौं । नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाकाे बारेमा राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेनजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा सोमबार एक विज्ञप्ति जारी गर्दै यस्ताे माग गर्नुभएकाे हाे। आन्दोलनमा गरिएको अत्यधिक बल प्रयोग, घुसपैठ र त्यसपछिका तोडफोडमा दोषी जोसुकै भए पनि कानुनको दायरामा ल्याउनुपर्ने बताउनुभएकाे छ। आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना र कर्तव्यपालनका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीप्रति विज्ञप्तिमार्फत सम्मान व्यक्त गरिएको हाे।

नेता आङ्देम्बेले भदौ २३ मा शान्तिपूर्ण प्रदर्शनमा गरिएको अत्यधिक बल प्रयोग र २४ गतेको आगजनी तथा विध्वंसमा संलग्न जोसुकैलाई पनि राजनीतिक प्रभाव वा शक्तिका आधारमा उन्मुक्ति दिन नहुने स्पष्ट पार्नुभयाे । मानव अधिकार आयोगको प्रतिवेदन गौरीबहादुर कार्की आयोगको भन्दा विश्वसनीय रहेको उहाँले उल्लेख गर्नुभएकाे छ। उहाँले प्रतिवेदनमा सत्ताको नेतृत्वबाट केही पात्रलाई जोगाउन खोजिएको आशंका भए पनि यसका सिफारिस सरकारले तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयाे।

वर्तमान सरकार र प्रधानमन्त्री बालेन्द्र शाह लक्षित कांग्रेसले सुशासन, रोजगारी र भ्रष्टाचार नियन्त्रणका विषयमा पनि प्रश्न उठाएको छ । “जेनजीको बलिदानलाई सत्तामा पुग्ने भर्‍याङ मात्र बनाउने अधिकार सरकारलाई छैन । सरकारले आफूलाई यो आन्दोलनको प्रतिनिधिको रूपमा प्रस्तुत गर्छ भने आफ्नै शासनशैली जेनजीको मूल्य-मान्यतासँग मेल खान्छ भन्ने प्रमाणित गरेर देखाउनुपर्छ जारी विज्ञप्तिमा भनिएकाे छ ।”

कांग्रेसले आलोचनालाई शत्रुको बोली नठान्न, प्रश्न उठाउने नागरिकलाई दण्डित नगर्न र जेनजीको सपनालाई कुनै दल वा व्यक्तिको निजी राजनीतिक सम्पत्ति नबनाई राज्यको नीति र व्यवहारमै रूपान्तरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

Skip This