Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


राज्यका निकायहरू अन्योलमा छन्, सरकारको लक्षण राम्रो छैन : प्रचण्ड


416
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको बताउनुभएको छ ।

शनिवार कामठाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै सरकारका राम्रा काममा सहयोग र समर्थन रहने भएपनि नराम्रा कामको विरोध र आलोचना गर्ने आफ्नो स्पष्ट नीति रहेको उल्लेख गर्नुभयो ।

पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्दै पूर्वप्रधानमन्त्री दाहालले राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजलाई राष्ट्र तथा जनताप्रति थप गम्भीर र जिम्मेवार हुन आग्रह गर्नुभयो । उहाँले देशको स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डतालाई सर्वोपरी राख्नुपर्नेमा जोड दिनुभयो । लामो संघर्षबाट प्राप्त लोकतन्त्र र स्वतन्त्रताको रक्षाका लागि सबै पक्ष एकजुट हुनुपर्ने औँल्याउनु भयो । 

दाहालले भन्नुभयो, ‘अहिले कता–कता नेपाली राजनीति पनि, नेपाली कर्मचारीतन्त्र पनि र सबै राज्यका निकायहरु अलि बढी अन्योलमा भएको देखिन्छ । शुरुदेखि हामीले भनेका छौँ, राम्रो गर्नुस् सहयोग हुन्छ, समर्थन हुन्छ । नराम्रो गर्दा आलोचना हुन्छ, टिप्पणी हुन्छ, विरोध हुन्छ । हरेक क्षेत्रमा हामीले त्यही भन्दै आएका छौँ, अहिले पनि हाम्रो त्यही भनाइ रहिआएको छ । तर लक्षण राम्रो देखिएको छैन । तर हामीले फेरि राजनीतिक नेतृत्वले, कर्मचारीहरुले, नागरिक समाजले, सबै समाजका सचेत नागरिकहरुले फेरि राष्ट्रकाप्रति, जनताकाप्रति, आफ्नो स्वतन्त्रता र स्वाधीनताप्रति अझ गम्भीर, अझ जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता छ । सबभन्दा ठूलो कुरो राष्ट्र नै हो । हामी सबैले राष्ट्रको स्वाधीनता, देशको अखण्डता र हामीले लामो संघर्षबाट प्राप्त गरेको स्वतन्त्रता, लोकतन्त्र यसको रक्षामा केन्द्रित हुने आवश्यकता छ ।’

उहाँले राज्यका हरेक क्षेत्रमा सचेत नागरिक र जिम्मेवार निकायले राष्ट्रिय हितका लागि काम गर्नुपर्ने आवश्यकता रहेको समेत प्रष्ट पार्नुभयो ।