काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैको प्राकृतिक विपत्तिबाट भएको क्षति अकल्पनीय रहेको बताउनुभएको छ ।
रसुवामा आएको बाढीपछिको अवस्था अवलोकन गर्ने क्रममा नुवाकोटको त्रिशूली पुग्नुभएका अध्यक्ष ओलीले बाढी र पहिरोका कारण जनधनको अपूरणीय क्षति भएको उल्लेख गर्नुभएको हो । प्रभावित क्षेत्रको निरीक्षणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यसपटकको बाढीको प्रकृति र बहावको धार अस्वाभाविक रहेको बताउनु भयो ।
अध्यक्ष ओलीले उद्धार र तत्कालको राहत मात्र पर्याप्त नहुने भन्दै दीर्घकालीन पुनर्निर्माण र व्यवस्थापनमा जोड दिनुभयो । उच्च पदस्थ अधिकारीहरूको भ्रमण केवल औपचारिकतामा मात्र सिमित हुन नहुने बताउँदै उहाँले सरकारको प्रभावकारिता जनताले प्रत्यक्ष महशुस गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘मानिसहरूले भाग्ने समय समेत नपाउने गरी बस्तीमा बाढी पसेको छ । खोलाको सिमाना नै नरहने गरी आएको यो असाधारण बाढीले हजारौँको संख्यामा भौतिक संरचना ध्वस्त पारेको छ । झाडी र घरका छतहरूमा शव भेटिनु अत्यन्तै हृदयविदारक छ । बाटोघाटो, पुल र अन्य भौतिक संरचनाको पुनर्निर्माणका साथै पीडितहरूको आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनका लागि ठोस योजना आवश्यक छ ।
बालबालिकाको शिक्षा र बिरामीको नियमित औषधोपचारमा कुनै अवरोध हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्छ । अहिलेको मुख्य आवश्यकता जनतालाई राहत र भरोसा दिनु हो । हामी सबै मिलेर यो संकटको सामना गर्नुपर्छ र राहत कार्यको रफ्तारलाई अझ बढाउनुपर्छ ।’
राहत र उद्धारमा खटिएका सरकारी निकायहरूलाई अझ सक्रिय बनाउनुपर्नेमा जोड दिँदै उहाँले नेकपा (एमाले) को तर्फबाट पनि राहत र सहयोगको कार्यलाई थप तिब्र बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्