काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी बाढीका कारण बेपत्ता भएका व्यक्तिको यकिन तथ्याङ्क अझै निर्धारण हुन नसकेको जनाएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले उद्धार तथा खोजी कार्य जारी रहेकाले बेपत्ताको संख्या यकिन गर्न कठिन भइरहेको बताउनुभयो । उहाँका अनुसार सोमबार बिहान ९ बजेसम्म विभिन्न आधिकारिक निकायबाट प्राप्त विवरणलाई एकीकृत गर्दा ४ हजार २०२ जना बेपत्ता रहेको तथ्याङ्क आएको छ ।
प्रवक्ता महतले स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय निकुञ्ज तथा विभिन्न जलविद्युत् आयोजनाबाट विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो । खोजीका क्रममा नयाँ विवरण प्राप्त हुने तथा केही बेपत्ता व्यक्तिसँग सम्पर्क स्थापित हुने क्रम जारी रहेकाले संख्या घटबढ हुनसक्ने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “हामीलाई अहिले मिसिङको संख्या कति हो भनेर एक्ज्याक्ट पत्ता लगाउन अलिकति अप्ठ्यारो नै छ । आधिकारिक निकायबाट प्राप्त भएका डेटालाई एक्युमुलेट गरेर ४ हजार २०२ भनेर तथ्याङ्क निकालेका छौँ । यो अपडेट फेरि घट्ने–बढ्ने भइरहन्छ ।”
महतका अनुसार विभिन्न जलविद्युत् आयोजना तथा सुरुङबाट उद्धार कार्यसमेत जारी छ । हालसम्म जलविद्युत् आयोजनाका सुरुङबाट मात्रै २८९ जनाको उद्धार गरिएको छ । आइतबार चिनियाँ १५ र भारतीय सात गरी थप २२ जनालाई हाइड्रो क्षेत्रमा उद्धार गरिएको थियो । लाङटाङ जलविद्युत् आयोजनामा भएको क्षतिबारे भने छुट्टै विवरण प्राप्त हुन नसकेको उहाँले बताउनुभयो ।
भोटेकोशी बाढीमा परी हालसम्म ९०३ जनाको शव फेला परेको छ भने १० हजारभन्दा बढीको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । बाढीबाट घाइते भएका २६७ जनामध्ये अधिकांश उपचारपछि घर फर्किएका छन् । बेपत्ताको खोजी तथा उद्धारका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसैबीच, विपद्का कारण अवरुद्ध सडक तथा सञ्चार सेवा अधिकांश क्षेत्रमा सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ । वैकल्पिक मार्ग पहिचान गरी सडक आवागमन सहज बनाइएको प्रवक्ता महतले जानकारी दिनुभयो ।
बाढीबाट ठूलो संख्यामा पुलमा क्षति पुगेको भन्दै उहाँले आवागमन पुनः सञ्चालनका लागि नेपाल सरकार तथा नेपाली सेनासँग उपलब्ध बेलीब्रिज प्रयोग गर्ने र चीन तथा भारतबाट थप बेलीब्रिज ल्याउने प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
क्षतिग्रस्त नेपाल टेलिकम तथा एनसेलका अधिकांश टावरसमेत सञ्चालनमा आइसकेको उहाँले जानकारी दिनुभयो । भविष्यमा पुनः बाढी आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै गल्छी र रसुवाको टिमुरेमा हाइड्रोलोजिकल स्टेसन स्थापना गरिएको छ । ती स्टेसनबाट बाढीसम्बन्धी ‘रियल टाइम’ तथ्याङ्क प्राप्त गर्न सकिने र थप स्थानमा समेत यस्ता स्टेसन स्थापना गर्ने तयारी भइरहेको महतले बताउनुभयो ।
विपद् व्यवस्थापनका लागि प्राधिकरणले करिब १४ वटा छुट्टाछुट्टै कार्यदल गठन गरी परिचालन गरेको छ । उद्धार, राहत, हेलिकोप्टर व्यवस्थापन, शव व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहायता र समन्वयका लागि छुट्टाछुट्टै कार्यदल बनाएर काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
विशेषज्ञसहितको शव व्यवस्थापन टोली विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको र शव व्यवस्थापन तथा संक्रमणको जोखिम न्यूनीकरणका विषयमा समेत आवश्यक काम भइरहेको प्राधिकरणले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्