काठमाण्डौं । विपद् विज्ञ डा. गंगालाल तुलाधारले विपद्पछिको उद्धारका लागि अन्तराष्ट्रिय सहयोग लिन सरकारलाई सुझाव दिनुभएको छ ।
रसुवा बाढीमा विभिन्न सुरुङमा फसेका नागरिकको चार दिनसम्म पनि उद्धार हुन नसक्नु दुःखद् भएको भन्दै उहाँले उपलब्ध जनशक्ति, प्रविधि र स्रोतसाधनले नभ्याउने भए विदेशी सहयोग लिनुपर्ने सुझाव दिनुभएको हो ।
विपद् व्यवस्थापनमा सरकारका क्रियाकलापहरु प्रशंसनीय भएपनि मानवीय उद्धारलाई प्राथमिकता दिन नसक्दा त्यसको सन्देश नकारात्मक जानेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । अन्तर्राष्ट्रिय क्षेत्रमा सुरुङ उद्धार सम्बन्धी विज्ञता भएका जापान, चीन, भारत लगायतसँग तत्काल सहयोग मागेर मानवीय उद्धारमा तदारुक हुन सरकारसँग आग्रह गर्नुभयो ।
विगतमा आवश्यक पर्दा बंगलादेशबाट गोताखोरसमेत ल्याएको उदाहरण दिँदै उहाँले अहिलेपनि उद्धार प्रविधि र अनुभव भएका देशसँग सहयोग माग्नुपर्नेमा जोड दिनुभयो । उहाँले विशेषगरी जलविद्युत आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘सुरुङमा भएका मान्छेहरूलाई कसरी उद्धार गर्ने भन्ने कुरामा सरकारले र खासगरी सेनाले गरेका अभुतपूर्व खालका कामहरू प्रशंसनीय छन्, तर त्यहाँ अड्केका मान्छेहरूलाई कसरी निकाल्ने भन्ने कुरामा प्राविधिक हिसावले र साधनस्रोतका हिसावले हामी पूर्णरूपमा सम्पन्न नहुन सक्छौँ ।
हामीसँग प्रविधि छैन, मानव स्रोत छैन भने अप्ठ्यारो नमानीकन विदेशी मित्रहरूसँग हात फैलाउनै पर्छ । सुरुङमा फसेका मान्छे उद्धार गर्ने असाध्यै राम्रो अनुभव जापानसँग हुन सक्छ, चीनसँग हुन सक्छ । उनै देशहरूसँग हामीले अनुरोध गर्नुपर्यो नि ।
यसमा अप्ठ्यारो मान्नु हुँदैन । र्यान्डम्ली हामी सहयोग लिँदैनौँ भन्ने भाष्य अहिले प्रचार भइरहेको छ भने त्यो गलत हो, तर जो दिएपनि लिने भन्ने पनि होइन । दाताहरूले के दिन सक्छन्, हामीलाई के आवश्यक छ भन्ने आधारमा ध्यानपूर्वक कुराकानी गर्नुपर्छ ।’
विपद्का बेला वाह्य सहयोग व्यवस्थापन गर्नेकुरा विगतको अनुभवबाट समेत सिक्नुपर्ने उहाँले बताउनु भयो । २०७२ सालको भूकम्पपछि अनावश्यक सामग्रीसमेत ठूलो मात्रामा आएको उल्लेख गर्दै उहाँले अहिले त्यस्तो अवस्था दोहोरिन नदिन भने सरकार सचेत हुनुपर्ने बताउनुभयो ।
उद्धार तथा राहतका लागि आवश्यक सहयोग र पुनर्निर्माणका लागि आवश्यक दीर्घकालीन सहयोगलाई समेत फरक ढंगले मूल्यांकन गर्नुपर्ने उहाँको भनाई छ । बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनामा ठूलो क्षति पुर्याएको अवस्थामा पुनर्निर्माणका लागि नेपालले आफ्नै स्रोतबाट मात्रै खर्च धान्न कठिन हुन हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पैसा, प्रविधि र मानव स्रोतको हिसाबले हामीसँग नभएको चीजमा अप्ठ्यारो नमानीकन विदेशी मित्रहरूसँग हात फैलाउनै पर्छ, तर हामीसँग त्यो शक्ति छ भने अरूलाई प्रयोग गर्ने नाममा आफ्नै शक्तिको मनोबल गिराउने काम पनि गर्नु हुँदैन ।’
जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना रहेकाले यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको उहाँको भनाइ छ । भूकम्पमा लामो समयपछि पनि जीवित उद्धार भएको दृष्टान्त दिँदै उहाँले मानवीय उद्धारलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले सुरुङमा फसेका मान्छेहरूलाई जीवितै उद्धार गर्न सकिन्छ । ढिलो भयो भने उनीहरूको पनि ज्यान जान सक्छ, यसमा दुई मिनेट पनि ढिलो गर्नु हुँदैन । दुई घण्टा, दुई दिनको त कुरै छोड्नुस् ।’
पीडितका परिवारले सरकारलाई अभिभावक ठानेर आफ्ना आफन्तको उद्धारका लागि गरिरहेको आग्रहलाई सरकारले गम्भीरतापूर्वक सुन्नुपर्ने उहाँको भनाई छ । उहाँले विपद्को प्रकृति र उद्धारको सम्भावनाअनुसार रणनीति बनाउन पनि सरकारलाई सुझाव दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्