Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


बुढीनन्दा नगरपालिका प्रमुख जनक बोहराले नगरबासीकाे मत जित्दै


0
Shares

महेश कार्की

बाजुरा । नेपालका अधिकांश दुर्गम हिमाली भू-भागहरूमा प्राय जसाे आर्थिक भाव, विपद्, दुर्घटना र पूर्वाधार विकासकाे क्षेत्र पनि अत्यन्तै पिछडिएकाे भनेर समाचारमा प्रकाशन हुने गरेका छन्।

तर त्यहाँका स्थानीय मानिसहरूको संघर्ष, सम्भावना र सकारात्मक परिवर्तनका कथाहरू भने कमै मात्रमा प्रकाशित हुने गरेकाे देखिएकाे छ। तर हिमाली जिल्ला बाजुराको बुढीनन्दा नगरपालिका पछिल्ला वर्षहरूमा विशेष ध्यानाकर्षण पाउन थालेको हाे। जहाँ शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सेवा र स्थानीय सरकारको प्रभावकारितामा उल्लेखनीय सुधार देखिएको हाे । यस परिवर्तनको केन्द्रबिन्दु नगर प्रमुख जनक कुमार बोहोरा बनेका छन् । जसले व्यक्तिगत आराम र सुविधायुक्त जीवन छोडेर आफ्नो गृह जिल्ला र स्थानीय जनताको जीवनस्तर सुधार्ने बाटो रोजेका छन् । जनक बाजुराको पाण्डुसैन गाविसमा जन्मिएका थिए ।

हालको बुढीनन्दा नगरपालिका–१० बाटुलिसेरा, जहाँ बुबा स्वर्गीय दल बहादुर बोहोरा तत्कालीन गाविस सचिव थिए । जनककी आमा राधिका बोहोरा भने सामाजिक चेतना र महिला सशक्तिकरणमा सक्रिय थिइन् । बाल्यकालदेखि नै उनले गाउँको वास्तविकता देखे-कच्ची सडक, स्वास्थ्य सेवा र शिक्षा सुविधा न्यून, आर्थिक दृष्टिले मध्यम वर्गीय भए पनि नैतिक तथा सामाजिक दृष्टिले बलियो परिवार वातावरणले उनलाई अनुशासन, इमानदारी-समाजप्रतिको जिम्मेवारी सिकायो, स्थानीय शिक्षकहरूको स्मरण छ। “जनक बाल्यकालदेखि नै जिज्ञासु, अनुशासित र नेतृत्व गुणयुक्त विद्यार्थी थिए । कक्षामा सधैं अग्रपंक्तिमा रहन्थे र समूहगत काममा सक्रिय भाग लिने गर्थे।”

जनकको प्रारम्भिक शिक्षा सत्य माध्यमिक विद्यालयबाट भयो । जहाँ उनले अध्ययन र नेतृत्व दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । अतिरिक्त क्रियाकलापमा प्रथम स्थान हासिल गरे। विद्यालयमा पुरस्कार प्राप्त गरेका थिए । यी सबै गतिविधिले उनलाई नेतृत्व र जिम्मेवारी बोध सिकाएको थियो । माध्यामिक शिक्षा पछि जनक पोखरास्थित पिएन क्याम्पस गए शहरी सुविधा र गाउँको अवस्था प्रत्यक्ष तुलना गर्न पाए । सहरमा उपलब्ध सुविधा र आफ्नै गाउँको अवस्था देख्दा उनी सामाजिक न्याय र समावेशी विकासतर्फ आकृष्ट भए ।

उच्च शिक्षा उनले ल क्याम्पस बाट एलएलबी (कानून)मा पूरा गरे जसले जनकलाई न्याय, प्रशासन र शासनको गहिरो बुझाइ दियो, विद्यार्थी राजनीति उनले २०४८ सालमा सत्य माविको अनेरास्ववियु प्रारम्भिक कमिटी अध्यक्ष बनेर शुरु गरेका थिए। सह–सचिव, सचिव हुँदै अध्यक्ष पदमा पुगेपछि उनले संगठनात्मक नेतृत्व र संघर्षको वास्तविक अनुभव हासिल गरेका थिए ।२०५८ साल माघ १९ को शाही कदमविरुद्धको आन्दोलनमा जनक अग्रपंक्तिमा थिए । विरोध प्रदर्शन, सभा र आन्दोलन संयोजनमा सक्रिय रहँदा जनक जेल समेत बसेका थिए। यस अनुभवले उनको राजनीतिक चेतना र संगठन कौशल मजबुत बनायो।

उच्च शिक्षा पूरा भएपछि सहरमै पेशागत जीवन बनाउने विकल्प हुँदा पनि उनले गृह जिल्ला फर्केर जनताको सेवा गर्ने निर्णय गरेका हुन्। बाजुरा फर्किएपछि उनले नेकपा एमालेको संगठन मजबुत बनाउन सक्रिय भूमिका निभाए, जिल्ला सचिवालय सदस्य, प्रचारप्रसार विभाग प्रमुख, संगठन विभाग प्रमुख हुँदै सह-सचिव बने र वर्तमानमा जिल्ला उपाध्यक्षका रूपमा कार्यरत छन्। २०७४ सालमा पहिलो पटक नगर प्रमुख पदमा उम्मेदवारी दिए पनि ७५ मतले पराजित भए, हारले जनकपछि हटेनन्।स्थानीयसँग निरन्तर सम्पर्कमा रहेर काम गरे र २०७९ सालमा पुनः उम्मेदवारी दिएर १ हजार ८ सय ५५ मतान्तरले विजयी हुँदै नगर प्रमुख बनेका हुन् ।

नगर प्रमुख पद सम्हालेपछि उनले पहिलो प्राथमिकता स्थानीय नागरिकलाई सुलभ सेवा उपलब्ध गराएका छन् । कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गर्न, नापी र मालपोत कार्यालय स्थापना महत्त्वपूर्ण भूमिका खेले जसले नागरिकले साना कामका लागि जिल्ला सदरमुकाम धाउन नपरोस् भन्ने सुविधा उपलब्ध गरायो । शिक्षा क्षेत्रमा सरकारी विद्यालयको माध्यमिक शिक्षा परीक्षामा शतप्रतिशत नतिजा ल्याउन शिक्षक व्यवस्थापन, अनुगमन र सहयोग कार्यक्रम सञ्चालन गरियो।

जनप्रकाश माध्यमिक विद्यालयको भवन पुनर्निर्माण भयो । एसईई पूरक परीक्षा केन्द्र सञ्चालनमा आयो । जिल्लाकै पहिलो आवासीय विद्यालय सञ्चालन गरी विपन्न, अनाथ र भोटे बालबालिकालाई लक्षित गर्दै अध्ययनका लागि सुविधा उपलब्ध गराइयो। शिक्षक प्रशिक्षण, अध्ययन सामग्री वितरण र विद्यार्थीहरूको नियमित अनुगमनको प्रणाली लागू गरियो जसले उनीहरूलाई केवल आधारभूत ज्ञान मात्र नभई जीवन कौशल, खेलकुद र सांस्कृतिक गतिविधिमा संलग्न गराएको छ।

स्वास्थ्य क्षेत्रमा जनक नेतृत्वमा बुढीनन्दा नगरपालिकाले प्राथमिकता दिएको हाे। यस अन्तर्गत कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालमा स्तरोन्नति गरिएको छ । जहाँ दन्त सेवा, आँखा उपचार, प्रयोगशाला सेवा, औषधि वितरण, स्वास्थ्य बीमा, एम्बुलेन्स सेवा र शल्यक्रिया सेवा उपलब्ध छन् । हाल अस्पतालमा एमडीजीपी डाक्टरको व्यवस्था गरिएको छ। दूरसञ्चार प्रणाली मार्फत टेलिहेल्थ सेवा पनि शुरु गरिएको हाे। जसले दुर्गम गाउँका बिरामीलाई सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटाएको छ।

स्थानीयबासी भन्छन्,- “अर्को जिल्ला जानु पर्ने सुविधा हाम्रो गाउँमै उपलब्ध भएको छ। अब स्वास्थ्य सेवामा सहजता आएको छ।” स्वास्थ्य सुधारले विपन्न, वृद्ध र महिला समुदायलाई प्राथमिकतामा राखेको छ । स्वास्थ्य बीमा योजनाले गरीब र आर्थिक दृष्टिले कमजोर वर्गलाई प्रत्यक्ष लाभ दिएको हाे। आपत्कालीन सेवामा इमरजेन्सी एम्बुलेन्सले समयमै बिरामी पुगाउन सहयोग गरेको छ।

खेलकुद क्षेत्रमा पनि उल्लेखनीय सुधार भएको छ ।नगरपालिकाले विभिन्न विधाका प्रशिक्षक नियुक्ति गरी विद्यालयस्तरदेखि जिल्लास्तर प्रतियोगिता सञ्चालन गरेको हाे । बुढिनन्दा जिल्ला राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेता र उपविजेता बन्न सफल भएको छ । खेलकुद कार्यक्रमले किशोर-किशोरीलाई सकारात्मक मार्गदर्शन दिएको छ ।शारीरिक स्वास्थ्य र मानसिक विकासमा योगदान पुर्याएको हाे । साथै सांस्कृतिक गतिविधिहरू र स्थानीय पर्व–परम्परालाई प्राथमिकता दिइएको छ। जसले समुदायमा सकारात्मक सामाजिक वातावरण सिर्जना गरेको हाे। युवालाई नशा र अनावश्यक गतिविधिबाट टाढा राख्न मद्दत गरेको छ।

पूर्वाधार र संचार क्षेत्रमा पनि उल्लेखनीय सुधार भएको छ। कोल्टी बजारको खानेपानी समस्या समाधान गरिएको हाे। कोल्टी बजार बृहत खाने पानी योजना सञ्चालन भइरहेको छ। राष्ट्रिय प्रसारण लाइन जडानपछि स्थायी बिजुली सेवा उपलब्ध भएको छ। चार वटा दूरसञ्चार टावर निर्माण भएपछि फाेजी नेटवर्क सञ्चालनमा आएको छ। जसले दुर्गम भूभागमा सूचना प्रवाह र व्यवसायिक संचारलाई सहज बनाएको हाे। सडक सञ्जाल विस्तारले गाउँ–टोलहरूलाई सदरमुकाम र बजारसँग जोडेको छ। जसले स्थानीय उत्पादनको ढुवानी र नागरिकको आवाज सरकारसम्म पुग्न सहज बनाएको हाे।

कृषि क्षेत्रमा रैथाने बाली प्रवर्द्धन, कृषि हाटबजार निर्माण, उत्पादनको बजारीकरण र किसानलाई सीधा बिक्रीमा सहयोग गर्ने व्यवस्था गरिएको छ। जसले स्थानीय कृषकलाई आर्थिक आत्मनिर्भर बनाउने मात्र नभई स्थानीय अर्थतन्त्रमा योगदान पुर्याएको हाे। कृषकहरूले आफ्नो उत्पादन सजिलै बेच्न र मुनाफा कमाउन थालेका छन् ।साथै कृषि तालिम, बीउ–बिजनको उपलब्धता, र पशुपालन प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गरिएको हाे।

पर्यटन प्रवर्द्धनमा पनि ध्यान दिइएको छ, कालाजग्रा क्षेत्रमा पदमार्ग निर्माण गरिएको छ। सरकारी पूजा परम्परा शुरु गरिएको हाे। पर्यटकका लागि आधारभूत सुविधा उपलब्ध गराइएको छ। जसले स्थानीय अर्थतन्त्र र सांस्कृतिक संरक्षणमा योगदान पुर्याएको छ। पर्यटक र स्थानीय बासिन्दाबीच सहकार्य, जागरूकता र सांस्कृतिक आदान–प्रदानले पर्यटनको स्थायी विकासको आधार तयार गरेको हाे।

स्थानीयवासी भन्छन्,-“ प्रमुख जनाक कार्यालय भन्दा बढी गाउँमा भेटिन्छन्, काममा ढिला गर्दैनन्, र समस्याको समाधान तुरुन्त खोज्ने प्रयास गरेका छन् ।’ नगर प्रमुखले दुर्गम भूगोल, सीमित बजेट, जनशक्ति अभाव र प्राकृतिक विपद्का जोखिम भए पनि व्यवस्थित र दीर्घकालीन योजनामार्फत सुधार कार्य अघि बढाइरहेका छन्। जनक भन्छन्,- “चुनौती भए पनि काम रोकिँदैन, व्यवस्थित ढंगले अघि बढ्न प्रेरणा मिल्छ। भूगोलले सीमित गर्न सक्छ तर दृष्टिकोणले होइन।”

शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन र सामाजिक समावेशी विकासलाई प्राथमिकतामा राख्दै नगरपालिकाले विकासका योजनाहरू अघि बढाएको छ। यसले बुढिनन्दा मात्र होइन, आसपासका दुर्गम गाउँका नागरिकलाई पनि प्रत्यक्ष लाभ दिएको हाे।, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारले विपन्न र वृद्ध वर्गलाई सहज सेवा उपलब्ध गराएको हाे । खेलकुद र सांस्कृतिक कार्यक्रमले युवालाई सकारात्मक मार्गदर्शन दिएको छ । कृषि तथा पर्यटनको प्रवर्द्धनले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाएको हाे। यसरी बुढिनन्दा नगरपालिका जनक नेतृत्वमा स्थानीय सरकारको प्रभावकारिता र विकासको उदाहरण बनेको छ।

बुढीनन्दा नगरपालिकाका स्थानीयवासीहरू भन्छन्,- “पहिले साना कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्थ्यो ।अब सबै सेवा आफ्नो गाउँमै उपलब्ध छ ।’ गाउँ–टोलमा पहुँच, स्वास्थ्य सुविधा, शिक्षा, पानी र बिजुलीको सहजताले नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार आएको हाे। कोल्टी कुण्डा  क्षेत्रका नागरिकले जनक नेतृत्वमा भएको परिवर्तनलाई जीवनको वास्तविक सुधारको रूपमा अनुभव गरेका छन्। स्थानीय किसान कासिचन्द रोकाया  भन्छन्,- “पहिले उत्पादन बेच्न निकै कठिनाइ थियो, अहिले बजारको व्यवस्था भएपछि आम्दानी बढेको छ। परिवारको जीवनस्तर सुधार भएको छ।”

शिक्षक र विद्यालय प्रशासनका कर्मचारीहरूले पनि सुधार अनुभव गरेका छन्। एक शिक्षक भन्छन्,- “अघिल्लो अवस्थामा विद्यालय भवन जीर्ण थियो। विद्यार्थीहरूको अध्ययनमा धेरै बाधा थियो । तर नगरपालिकाको पहलले भवन पुनर्निर्माण, शिक्षक व्यवस्थापन, अनुगमन र पूरक कार्यक्रम ल्याएपछि विद्यार्थीहरूको परिणाममा सुधार आएको छ।” विद्यार्थी स्वयं भन्छन्,- “हाम्रो गाउँमै अब आवासीय विद्यालय छ। एसईई पूरक परीक्षा सञ्चालन हुन्छ। शिक्षकसँग नियमित समन्वय हुने भएकोले अध्ययन सजिलो भयो।

स्वास्थ्य क्षेत्रमा पनि नागरिकले सुधारको अनुभव गरेका छन्। ५० वर्षीय परिमल चदारा  भन्छन्,- “पहिले सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्थ्यो ।अब हाम्रो गाउँमै चिकित्सक, प्रयोगशाला र औषधि उपलब्ध छन् । एम्बुलेन्स सेवा पनि छ, टेलिहेल्थ मार्फत परामर्श लिन सकिन्छ।” महिला स्वयंसेवकका राघा कार्की भन्छिन,-“सञ्चार र स्वास्थ्य सेवा सुधारले महिला, वृद्ध र विपन्न वर्गलाई राहत दिएको छ । अब गर्भवती र साना बालबालिका सजिलै स्वास्थ्य सेवामा पहुँच पाउँछन्।”

नगर प्रमुख जनक भन्छन्,-“हामीले प्राथमिकता स्वास्थ्य, शिक्षा र पूर्वाधारमा राख्यौं, किनभने मान्छे बाँचेपछि मात्र विकासको चर्चा हुन्छ। दुर्गम भूगोलले चुनौती दिन सक्छ । तर दृष्टिकोणले हामीलाई अघि बढ्न रोक्दैन।” उनको नेतृत्वमा योजना कार्यान्वयनको प्रणाली प्रभावकारी भएको हाे। प्रत्येक गाउँमा निरन्तर अनुगमन, प्रतिक्रिया संकलन र सुधार कार्य भइरहेको छ।

दीर्घकालीन योजना अनुसार, नगरपालिकाले शिक्षा क्षेत्रमा नयाँ विद्यालय, पाठ्यपुस्तक, शिक्षक प्रशिक्षण, आवासीय बिध्यालयको सुविधा, विद्यार्थी उत्साहवर्द्धन कार्यक्रमहरूलाई निरन्तर विस्तार गर्दैछ।  कृषि क्षेत्रमा उत्पादन प्रवर्द्धन, हाटबजार विस्तार, कृषक तालिम र जैविक खेती प्रोत्साहनको लक्ष्य तय गरिएको हाे । पर्यटन क्षेत्रमा कालाजग्रा र बुढिनन्दालाई  आधारभूत संरचना र सांस्कृतिक कार्यक्रमलाई राष्ट्रिय  स्तरमा पुर्‍याउने योजना अघि बढिरहेको छ।

स्थानीयवासी र नागरिक समाजका प्रतिनिधिहरूको प्रतिक्रिया अनुसार, जनक काममा स्थिर, अनुशासित र सबैभन्दा बढी गाउँ–टोलमा भेटिने नेता हुन्। एक स्थानीय युवा भन्छन्,-“उहाँ हामीसँग नियमित भेट्नुहुन्छ, समस्या सुन्नुहुन्छ र समाधान खोज्नुहुन्छ। जसले हाम्रो विश्वास बढाएको छ।”

नगरपालिकाले खेलकुद र साँस्कृतिक क्षेत्रमा पनि दीर्घकालीन दृष्टिकोण अपनाएको हाे। प्रत्येक विद्यालयमा प्रशिक्षक नियुक्ति, खेलकुद प्रतियोगिता र साँस्कृतिक कार्यक्रममा स्थानीय समुदायको सहभागिता बढाइएको छ। जसले किशोर–किशोरीलाई सकारात्मक मार्गदर्शन, सामाजिक चेतना र स्वास्थ्य सुधारमा योगदान पुर्‍याएको हाे।

पूर्वाधार क्षेत्रमा बुढिनन्दा नगरपालिकाले सडक, पानी, बिजुली, दूरसञ्चार र बजार व्यवस्थापनलाई प्राथमिकता दिएको छ। कोल्टी बजारको खानेपानी प्रणाली सुधार, 4G नेटवर्क जडान, राष्ट्रिय प्रसारण लाइन, टावर निर्माण र सडक विस्तारले स्थानीयवासीको जीवनस्तर र व्यवसायिक गतिविधिमा प्रत्यक्ष असर पुर्‍याएको छ।

प्रमुख जनकले साना-ठूला सबै काममा निरन्तरता, समन्वय र योजनाबद्ध कार्य महत्त्वपूर्ण हुने बताएका छन्। दुर्गम भेगमा चुनौती बढी हुने समेत बताएका हुन् । तर सही दृष्टिकोण र जनताको विश्वासले चुनौती पार गर्न सकिने उनकाे ठहर छ।