काठमाडाैं । गाेरखाकाे शहिद लखन गाउँपालिकास्थित मनकामना आधारभूत स्वास्थ्य सेवा केन्द्रले गत साउनमा १ सय ८० जना नयाँ सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ।
स्वास्थ्य केन्द्रले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को श्रावण महिनाको सेवा प्रवाह विवरण अनुसार ८६ महिला र ९४ पुरुष गरी १ सय ८० जना नयाँ सेवाग्राहीले स्वास्थ्य सेवा लिएका हुन्। स्वास्थ्य केन्द्रले सोही अवधिमा १ सय ९५ जना पुराना तथा फलोअप सेवाग्राहीले सेवा लिएका छन्। जसमध्ये ८९ महिला र १ सय ६ पुरुष रहेका छन्। त्यस्तै, २२ जना ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा लिएका हुन्।
बहिरंग (ओपीडी) सेवातर्फ १ सय ५९ जना नयाँ र २८ जना पुराना सेवाग्राहीले सेवा लिएका छन्। बाल स्वास्थ्यतर्फ २८ जनाले नियमित खोप सेवा पाएकाे र चार जना बालबालिका पूर्ण खोपयुक्त भएको विवरणमा उल्लेख गरिएकाे छ। वृद्धि अनुगमनतर्फ ०–११ महिनाका चार जना नयाँ तथा २९ जना दोहोरिएका बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको हाे। १२-२३ महिनातर्फ कुनै नयाँ बालबालिका नभए पनि २४ जना दोहोरिएका बालबालिकाको वृद्धि अनुगमन गरिएको छ।
मातृ तथा नवजात शिशु स्वास्थ्य सेवातर्फ ८ पटक गर्भजाँच सेवा दुई जना र चार पटक गर्भजाँच सेवा ३ जनाले लिएका हुन्। प्रसूती सेवा लिनेको संख्या भने शून्य रहेको र तीन जनाले प्रसूती पश्चात्को स्वास्थ्य सेवा लिएका छन्। परिवार नियोजन सेवा अन्तर्गत स्वास्थ्य केन्द्रबाट १ सय ४४ थान कन्डम वितरण गरिएको छ। छोटो अवधिको गर्भनिरोधक साधन प्रयोग गर्ने नयाँ सेवाग्राही ३ जना रहेका हुन्।
त्यस्तै, गाउँ क्लिनिकमार्फत ७७ जना र स्याटेलाइट क्लिनिकमार्फत १८ जनाले सेवा लिएका छन्। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (एफसीएचभी) मार्फत १ सय २२ जनाले सेवा पाएको विवरणमा उल्लेख गरिएकाे छ। गर्भवतीका लागि भिडियो एक्स-रे (यूएसजी) सेवा भने ६ जनाले लिएका हुन्। स्वास्थ्य केन्द्रले श्रावण महिनामा क्षयरोग परीक्षण तथा नयाँ क्षयरोग पहिचानका कार्यक्रम पनि सञ्चालन गरेको जनाएको छ।
स्वास्थ्य सेवा केन्द्रले नयाँ क्षयरोगका बिरामीको संख्या शून्य रहेको र पुराना तथा नयाँ गरी दुई वटा क्षयरोगका केस अभिलेखमा रहेकाे जनाएकाे हाे।










प्रतिक्रिया दिनुहोस्