सम्झना भुजेल
काठमाडाैं । बाराको सिमरा उपमहानगरपालिकाकी ३ वर्षीया अबोध बालिका गरिमा चौधरीमाथि जघन्य अपराध र हत्याको विरोधमा काठमाडौंको शान्ति वाटिकामा आमाहरु प्रदर्शनमा उत्रिएका छन् ।
अपराधीलाई कडा कारबाही र छोरीचेलीको सुरक्षाको माग गर्दै उनीहरूले काठमाडौंको सडक तताएका हुन् । गत साउन ३१ गते बिहान करिब ८ बजे सिमराकी ३ वर्षीया गरिमा चौधरी घरबाटै हराइन्। आमा मनमती चौधरीले सधैँझैँ छिमेकी साथीहरूसँग खेल्न गएकी होली भनेर शुरुमा वास्ता गरिनन्। तर ३ घण्टा बित्दा पनि नफर्किएपछि खोजी शुरु भयो। प्रहरी र साँझ मजदुरीबाट फर्केका बुबा मनोज चौधरीले खोजी तीव्र बनाएका थिए।
यहि भदौ १ गते प्रहरीले खोजी शुरु गर्यो भने भदौ २ गते घरबाट दुई सय मिटर टाढा रहेको मानिस नबस्ने एक घरबाट दुर्गन्ध आयो। खानतलासी गर्दा गरिमाको वीभत्स शव फेला परेकाे हाे । शंकाको सुई भाइ-दाइ भनेर घर आउजाउ गर्ने १६ वर्षीय छिमेकी सुमन थापातिर मोडियो। प्रहरीले कुकुरको सहयोगमा अनुसन्धान गर्दा, टोलीसँगै खोजेको नाटक गरिरहेका सुमनलाई पक्राउ गर्यो। सोधपुछमा सुमनले चकलेट दिएर फकाएको र बलात्कार पछि हत्या गरेको स्वीकार गरेका छन्।
सुमन सहचालक रहेको म्याजिक गाडीका चालक प्रोगेस चौधरी पनि पक्राउ परेका हुन्। अब प्रहरी अनुसन्धान जारी रहे पनि पीडित परिवार र आफन्त भने प्रहरी प्रशासनको फितलो कारबाहीप्रति अझै असन्तुष्ट रहेका छन्। आमाहरूको एउटै माग छ-हाम्रा छोरीचेली सुरक्षित हुनुपर्छ। सरकारले कानून बलियो बनाओस्, नभए बलात्कारी र हत्यारालाई जनताको जिम्मा लगाओस्।
विस्तृतमा भिडियाे रिपोर्ट हेर्नुहाेस्:









प्रतिक्रिया दिनुहोस्