Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


अभ्यास खेलमा नेपाली क्रिकेट टाेलीकाे भारतको कर्नाटकमाथि शानदार जित

कर्नाटक भने ११६ रनले पराजित

247
Shares

काठमाडाैं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतको कर्नाटकलाई पराजित गरेकाे छ।

तेस्रो संस्करणको एसीसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली टाेलीले मंगलबार राति भएको पहिलो अभ्यास खेलमा कर्नाटकलाई १ सय १६ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको कर्नाटकको टोली २८ ओभरमा ७२ रनमै अलआउट भयो । कर्नाटकका शरथ श्रीनिवासले सर्वाधिक ३२ रन बनाएका थिए ।

अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका करन केसी, ललित राजवंशी, शेर मल्ल र बसिर अहमदले समान २ विकेट तथा हेमन्त धामी र सन्दीप लामिछानेले समान १ विकेट लिएका हुन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४५ ओभरमा १ सय ८८ रन बनाएको थियो । नेपालका आसिफ शेखले सर्वाधिक ४९ तथा इशान पाण्डेले ३४, देव खनालले २७ र सन्दीप जोराले २७ रन बनाएका हुन्।

नेपालले भारतमा थप अर्को अभ्यास खेल खेल्ने तालिका रहेकाे छ । १० दिनको प्रशिक्षण सकाएर नेपाली टोली प्रिमियर कप खेल्न भारतबाटै मलेसिया प्रस्थान गर्ने भएकाे हाे । मलेसियामा पनि नेपालले तीन दिन अभ्यास खेल खेल्ने भएकाे छ। समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल यहि भदौ १५ गते बहराइनकाे सामना गर्ने भएकाे हाे।

त्यसपछि नेपालले मलेसिया, साउदी अरब र हङकङसँग खेल खेल्ने भएकाे छ।