Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


भारतका प्रधानसेनापति सेठलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिंदै


260
Shares

काठमाडौं । भारतका प्रधानसेनापति जनरल धिरज सेठलाई साेमबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिंदैछ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा साेमबार आयोजना हुने विशेष समारोहमा भारतका स्थल सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेकाे हाे । प्रधानसेनापति सेठलाई साेमबार अपरान्ह विशेष समारोहकाबीच दर्ज्यानी चिह्न प्रदान गर्न लागिएको हो।

प्रधानसेनापति सेठ आइतबार नेपालको चार दिने भ्रमणका क्रममा काठमाडौं आइपुग्नुभएकाे थियाे। नेपालका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उहाँ नेपाल आउनुभएकाे हाे। उहाँलाई स्वागत गर्न आइतबार नेपाली सेनाका उच्च पदस्त अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

काठमाडौं बसाइँको क्रममा उहाँले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानसेनापति सिग्देल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ। नेपाल र भारतबीचका प्रधानसेनापतिलाई एकअर्को देशको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ। यहि परम्पराअनुसार नेपाल भ्रमणमा आएका सेठलाई पनि उक्त सम्मान प्रदान गर्न लागिएको हो।

नेपालका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी र भारतीय प्रधानसेनापतिलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा सन् १९५० देखि शुरु भएको हो। जसलाई नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सम्मानको महत्वपूर्ण प्रतिकका रूपमा लिइन्छ।