Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य


156
Shares

काठमाडाैं ।
अस्ट्रेलियामा आयोजना हुने ‘टप इण्ड टी–२०’ क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने नेपाल ‘ए’ टोलीलाई आज एक औपचारिक कार्यक्रमका बीच बिदाइ गरिएको छ ।

नेपाली टोली सोमवार राति अस्ट्रेलियातर्फ प्रस्थान गर्ने तालिका रहेको छ । प्रतियोगिताको तालिकाअनुसा नेपालले अगस्ट २१ मा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध खेल्दै आफ्नो भ्रमणको शुरुवात गर्नेछ । यसैगरी, नेपालले अगस्ट २२ मा बंगलादेश हाई पर्फमेन्स, २४ मा होबार्ट हरिकेन्स, २६ मा एसीटी कमेट्स, २७ मा किंग्सम्यान र २९ मा भिक्टोरियाविरुद्ध प्रतिष्पर्धा गर्ने तय भएको छ ।

उक्त टी–२० सिरिजको समाप्तिपछि नेपाल ‘ए’ टोलीले थप अभ्यासका लागि न्युजिल्याण्ड ‘ए’, तास्मानिया र दक्षिण अस्ट्रेलियासँग एकदिवसीय खेलसमेत खेल्ने कार्यक्रम रहेको छ । आईतवार आयोजित टोलीको बिदाइ कार्यक्रममा बोल्दै कप्तान अनिल साह र प्रशिक्षक राजु बस्न्यातले यस भ्रमणलाई नेपाली क्रिकेटको दीर्घकालीन हित र खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि एक महत्वपूर्ण अवसरको रूपमा लिएको बताउनु भयो ।

प्रशिक्षक राजु बस्न्यातले नेपाल ‘ए’ टोलीको अवधारणाले नेपाली क्रिकेटको ‘बेन्च स्ट्रेन्थ’ बलियो बनाउन महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । उहाँले पछिल्लो पाँच–६ महिनामा ‘ए’ टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै खेलाडीहरू सिनियर टोलीमा पुग्नु र फर्म गुमाएका सिनियर खेलाडीहरूले यहाँबाट पुनः लय समात्नु नेपाली क्रिकेटका लागि सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो ।

यस्तै, कप्तान अनिल साहले टोलीमा कुशल भुर्तेल, कुशल मल्ल र लोकेश बम जस्ता अनुभवी खेलाडीहरूको उपस्थितिले युवा र उदीयमान खेलाडीहरूलाई नयाँ कुरा सिक्न र आत्मविश्वास बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सिनियर खेलाडीहरू ‘ए’ टोलीमा आउनुलाई सामान्य प्रक्रिया मान्दै उहाँले भन्नुभयो, ‘यो एक स्वाभाविक प्रक्रिया हो । अन्तर्राष्ट्रिय स्तरमा पनि स्थापित खेलाडीहरूले आफ्नो लय फिर्ता पाउन घरेलु वा ‘ए’ टोलीबाट खेल्ने अभ्यास छ ।’

अस्ट्रेलियाको खेल मैदान र वातावरणीय अवस्था (कन्डिसन) नेपाली खेलाडीहरूका लागि मुख्य चुनौती रहने देखिएको छ । गत वर्षको अनुभवलाई स्मरण गर्दै प्रशिक्षक बस्न्यातले ब्याटिङभन्दा पनि फिल्डिङमा बढी सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । ‘अस्ट्रेलियाका मैदानमा बाउन्ड्री निकै ठूला हुन्छन् र लाइटको कारणले उच्च क्याचहरू लिन कठिन हुनसक्छ । हामी यी कन्डिसनहरूसँग चाँडै अनुकूलन (एडाप्ट) हुन विशेष केन्द्रित छौं ।’ उनले भने। टोलीको सन्तुलन र हालैको तयारीबाट कप्तान र प्रशिक्षक दुवै सन्तुष्ट देखिएका छन् । नेपाली ‘ए’ टोलीले अस्ट्रेलियामा उत्कृष्ट प्रदर्शन गर्नेमा आफू ढुक्क रहेको बताउँदै कप्तान साहले यस भ्रमणबाट नेपाली क्रिकेटले सकारात्मक नतिजा हासिल गर्ने अपेक्षा राखेका छन् ।