काठमाडाैं । नेपाली काँग्रेसले सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
आईतवारदेखि पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी पार्टी केन्द्रिय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले यस्तो माग गरिएको बताउनुभएको हो । उहाँले सुनसरीसहित मधेसका केही जिल्लामा भएको घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकार्य आयोग गठन गर्ने पार्टीको माग यथावत रहेको बताउनुभयो ।
उहाँकाअनुसार नेपाली काँग्रेसले गृह मन्त्रालयअन्तर्गत गठन गरिएको छानविन समिति तथा आयोगले सरकारका कमजोरी ढाकछोप गर्ने आशंका समेत व्यक्त गर्नुभयो । उहाँले विगत १२ दिनदेखि अनसनरत विनय यादवको माग सम्बोधन गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकार सहमति र सम्झौता गर्न तत्पर हुने तर सम्झौता कार्यान्वयन नगर्ने कुराले नागरिकमा नैराश्यता बढाएको पनि टिप्पणी गर्नुभयो ।
सरकारप्रतिको अविश्वासले राज्य नागरिकहरूको अभिभावक हो भन्ने मान्यतालाई कुठाराघात गर्ने भन्दै यो विषयलाई संवेदनशील भएर बुझ्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘हालै सुनसरीको देवानगन्जस्थित कप्तानगन्ज, सिराहा लगायतका क्षेत्रमा दुःखद् घटना पछि तनावपूर्ण परिस्थिति भयो । नेपाली कांग्रेसले यो विषयमा स्वतन्त्र, निष्पक्ष र सर्वस्वीकार्य आयोग गठन गरोस्, जसले गर्दाखेरि सुरक्षाका क्षेत्रमा भएका कमीकमजोरीको पहिचान होस् र सुधार गर्नको लागि सजिलो होस् भन्ने हाम्रो माग रहिआएको छ । त्यो मागमा तालुकदार मन्त्रालयले आफ्नो कमजोरीको लागि आफैंले आयोग बनाउने कुराले समस्या समाधान दिने नभई ढाकछोप हुनसक्छ भन्ने हाम्रो अभिमत छ । यस घटनामा निष्पक्ष आयोग गठन गरेर पीडितका मागसहित सम्झौतालाई तत्कालै कार्यान्वयन गर्न, सरकारले गरेका सहमति समेत तत्कल कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराएका छौँ । विगत १२ दिनदेखि विनय यादवजी अनसनरत हुनुहुन्छ । उहाँको स्वास्थ्य स्थिति बिग्रँदै गएको छ । यस विषयमा मानवअधिकार आयोगले पनि सरकारको ध्यानाकर्षण गराएको छ । सम्झौता गर्ने, सम्झौताको कार्यान्वयन गर्न चासो नदेखाउने सरकारको उदासीनताकाप्रति अनसन बस्नुपर्ने स्थिति आएको छ । यो विषयले पार्टीलाई चिन्तित बनाएको छ । यो विषयको सन्दर्भमा समेत सरकारलाई तत्काल समाधान गर्न ध्यानाकर्षण गराएका छौँ ।’
प्रवक्ता चालिसेले पार्टीको आन्तरिक विषयले बैठकमा अझै प्रवेश नपाएको बताउनु भयो । उहाँले केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेकोले भोलिसम्म बैठकले उचित निर्णय गरेर सार्वजनिक गर्ने बताउनु भयो ।









प्रतिक्रिया दिनुहोस्