Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


वरिष्ठ साहित्यकार राजेन्द्रप्रसाद विमलको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि


312
Shares

नवीन सिंह, जनकपुरधाम । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र प्रसाद विमलको मंगलबार जनकपुरधाममा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

नेपाली, मैथिली, हिन्दी र अंग्रेजी साहित्य तथा भाषा अनुसन्धानमा महत्वपूर्ण योगदान पु¥याउनु भएका विमलको ८१ वर्षको उमेरमा सोमबार राति निधन भएको थियो ।

जनकपुरधाममा आयोजित अन्तिम श्रद्धाञ्जलीपछि उहाँको पार्थिव शरीरलाई नेपाल सरकारको तर्फबाट शोक सलामीसहित अन्त्येष्टि गरिएको हो । संघीय सरकारको प्रतिनिधिका रूपमा खडकराज पौडेलले डा. विमलको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभयो ।

अन्तिम श्रद्धाञ्जलीका क्रममा साहित्यकार, प्राध्यापक, लेखक, विद्यार्थी, राजनीतिकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले डा. विमलप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । उहाँको निधनले नेपाली तथा मैथिली साहित्य र भाषा अनुसन्धानको क्षेत्रमा अपूरणीय क्षति पुगेको सहभागीहरूले बताएका छन् । मधेश प्रदेश सरकारले पनि डा. विमलको निधनप्रति शोक व्यक्त गर्दै उहाँको परिवारप्रति समवेदना प्रकट गरेको छ ।

प्रदेश सरकारको तर्फबाट समवेदना पत्रसमेत अर्पण गरिएको थियो । साहित्य, भाषा, शिक्षा र अनुसन्धानको क्षेत्रमा डा. विमलले पु¥याएको योगदानको स्मरण गर्दै प्रदेश सरकारले उहाँको निधनले साहित्य तथा बौद्धिक क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ ।

डा. विमलको सोमबार राति करिब साढे ११ बजे परिवारका सदस्यसँग कुराकानी गरिरहेका बेला अचानक स्वास्थ्यमा समस्या देखिएको थियो । तत्काल नजिकैको अस्पताल लगिए पनि उपचारकै क्रममा राति पौने १ बजे उहाँको निधन भएको उहाँका कान्छा छोरा डा. विभाष लाभले जानकारी दिएका थिए ।

विमल विसं २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको अध्यापनमा आबद्ध भएका थिए । चार दशकभन्दा लामो समय शिक्षण, अनुसन्धान र साहित्य सिर्जनामा सक्रिय उनले साहित्यलाई सिर्जनामा मात्र सीमित नराखी भाषा, समाज र संस्कृतिको अध्ययनसँग समेत जोडेर अघि बढाएका थिए ।