Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


अमेरिकी विदेश मन्त्रालयद्वारा १ लाख ७५ हजार बढी भिसा रद्द

ट्रम्प प्रशासनको अध्यागमन नीतिमा कडाई

910
Shares

एजेन्सी। अमेरिकी विदेश मन्त्रालयले सन् २०२५ जनवरीमा राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हाले यता १ लाख ७५ हजार भन्दा बढी प्रवेशाज्ञा (भिसा) रद्द गरिएको जनाएकाे छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको पाइएपछि ती भिसाहरू रद्ध गरिएको स्पष्ट पारेको हो । मन्त्रालयका अनुसार कुटपिट, मादक पदार्थ सेवन गरी सवारी चलाएको (डीयूआई), चोरी र लागूऔषध सम्बन्धी अपराधहरू भिसा रद्ध हुनुका मुख्य कारण रहेका छन् । यसका साथै लापरवाहीपूर्ण ढङ्गले सवारी चलाएको, यौनजन्य हिंसा, बाल दुर्व्यवहार, जालसाजी र आर्थिक हिनामिना जस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिहरूको भिसा पनि ठूलो संख्यामा रद्ध गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

विदेश मन्त्रालयले भिसालाई अधिकार नभई एक ‘विशेषाधिकार’ को रूपमा व्याख्या गर्दै अमेरिकी भिसा प्राप्त गर्नु एउटा विशेषाधिकार भएकाे दावी गरेकाे हाे। यसको दुरुपयोग गर्नेहरूबाट हाम्रा समुदायलाई सुरक्षित राख्न उपलब्ध सबै कानूनी संयन्त्रहरूको प्रयोग गर्न विभाग प्रतिवद्ध रहेकाे जनाएकाे छ।

ट्रम्प ह्वाइट हाउसमा फर्किएसँगै उहाँको प्रशासनले अध्यागमन नीतिमा व्यापक कडाइ गरेको हाे। यस नीति अन्तर्गत कागजपत्रविहीन आप्रवासीहरूविरुद्ध कडा कदम चालेकाे देखिएकाे छ। साथै वैध भिसामा अमेरिकामा रहेका व्यक्तिहरूको समेत सुक्ष्म निगरानी र छानबिनलाई तीव्रता दिइएको हाे ।