Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशकको योग्यता फराकिलो बनाउन सांसद डा. कार्कीको प्रस्ताव


104
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदका लागि आवश्यक शैक्षिक योग्यता र कार्यक्षेत्रको दायरा फराकिलो बनाउन प्रस्ताव गर्नुभएको छ ।

सोमबार संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथिको छलफलमा भाग लिँदै उहाँले कार्यकारी निर्देशकको योग्यता एकै विधामा सीमित गर्न नहुने बताउनुभएको हो ।

डा. कार्कीले कार्यकारी निर्देशक पदका लागि फरेन्सिक मेडिसिनमा मात्र स्नातकोत्तर गरेका जनशक्तिलाई सीमित नगरी चिकित्सा विज्ञान, रसायन विज्ञान, जीव विज्ञान तथा भौतिक विज्ञानलगायत सम्बन्धित विधामा स्नातकोत्तर गरेका दक्ष जनशक्तिलाई समेत अवसर दिनुपर्ने तर्क गर्नुभयो ।

कुनै एक विषयमा मात्र योग्यता सीमित गर्दा योग्य उम्मेदवारको संख्या घट्ने र छनोट प्रक्रिया साँघुरिने भएकाले सक्षम जनशक्तिका लागि अवसर विस्तार गर्नुपर्ने उहाँको भनाइ छ ।

कार्यकारी निर्देशकको उमेर हद ६० वर्ष कायम राख्नुपर्ने पक्षमा आफ्नो धारणा राख्दै सांसद कार्कीले नयाँ पुस्ताले कम उमेरमै उच्च शैक्षिक योग्यता र व्यावसायिक दक्षता हासिल गरिरहेको उल्लेख गर्नुभयो । उहाँले नयाँ तथा अद्यावधिक ज्ञान भएका पुस्तालाई नेतृत्वमा आउने अवसर दिनुपर्ने बताउनुभयो ।

कार्यकारी निर्देशकका लागि प्रस्ताव गरिएको १० वर्षको कार्य अनुभवका विषयमा पनि स्पष्ट व्यवस्था आवश्यक रहेको उहाँले बताउनुभयो ।

‘सम्बन्धित क्षेत्रमा स्नातकोत्तर गरेपछि हासिल गरेको अनुभवसँगै चिकित्सकहरूको हकमा इन्टर्नसिप र सुरुआती चरणदेखिको कार्य अनुभवलाई पनि गणना गरिनुपर्छ । प्रमाणपत्रभन्दा कार्य अनुभव बढी महत्वपूर्ण हुन्छ,’ उहाँले भन्नुभयो ।

६० वर्ष उमेर पार गरेका अनुभवी व्यक्तिलाई कार्यकारी भूमिकाभन्दा सल्लाहकारका रूपमा जिम्मेवारी दिएर उनीहरूको अनुभवबाट संस्थाले लाभ लिन सक्ने उहाँको सुझाव छ ।

बैठकमा विधेयकका अन्य प्रावधान तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई आधुनिक, वैज्ञानिक र प्रभावकारी ढङ्गले सञ्चालन गर्ने विषयमा समेत दफावार छलफल भएको थियो ।