Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


सरकार जनसरोकारका विषयलाई छाेडेर मधुमास मनाउन व्यस्त रहेको सचेतक राईकाे टिप्पणी

अत्यावश्यक वस्तुको अभावले जनता आक्रान्त बनेकाे समयमा पनि सरकार संवेनदशील नभएको आरोप

0
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार जनसरोकारका विषयलाई छाेडेर मधुमास मनाउन व्यस्त रहेको टिप्पणी गर्नुभएकाे छ।

काठमाडाैंमा शुक्रबार आयाेजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सचेतक राईले बजारमा व्याप्त महँगी र ग्यास लगायतका अत्यावश्यक वस्तुको अभावले जनता आक्रान्त बनेका बेला सरकार संवेनदशील नभएको सचेतक राईकाे आरोप छ । उहाँले सदन र सामाजिक सञ्जालमार्फत सरकारलाई निरन्तर खबरदारी गर्न समेत नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

साथै उहाँले पहिचानको मुद्दालाई सम्मान गर्दै द्वन्द्वरहित समाज निर्माणमा जोड दिनुभएको छ। पहिचानको नाममा समाजलाई द्वन्द्वतर्फ धकेल्न खोजिएको भन्दै त्यसप्रति सतर्क रहनुपर्ने बताउनुभयाे । सचेतक राईले मुलुकमा लोकतन्त्र प्राप्तिका लागि प्रथम शहीद लखन थापादेखि इलामको सात खाल्डेका शहीदहरूसम्मले पुर्‍याएको योगदानको स्मरण गर्नुभयो ।

सचेतक राईले आफू इलामको एउटा सामान्य किसान परिवारमा जन्मिएको र विभिन्न समुदायको संस्कार एवं संस्कृतिमा हुर्किएको चर्चा गर्दै बहुजातीय र बहुसांस्कृतिक एकता नै नेपालको सुन्दरता भएको उल्लेख गर्नुभएकाे छ। आफू जन्मले नभई विचार र चिन्तनले कांग्रेस भएको स्पष्ट पार्नुभयो ।

सचेतक राईले पहिचानको मुद्दामा आफ्नो धारणा राख्दै उहाँले आदिवासी जनजातिहरू आफ्नो पहिचानका लागि पार्टी र राज्यका हरेक निकायमा लड्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ। यद्यपि, पहिचानको लडाइँ लड्दा अरूको पहिचानलाई पनि उत्तिकै सम्मान गर्नुपर्ने उहाँको तर्क थियाे । पछिल्लो समय पहिचानको नाममा मानिसहरूलाई भावनात्मक रूपमा उत्तेजित बनाएर द्वन्द्व सिर्जना गर्न खोजिएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभएकाे छ ।

सचेतक राईले कतिपय शक्तिले इतिहास र पहिचानलाई देखाएर पार्टी प्रवेश गराउने होडबाजी चलाएको उल्लेख गर्दै उहाँले त्यसले अन्ततः द्वन्द्व निम्त्याउने चेतावनी दिनुभयो । पहिचान पनि भेटिने र द्वन्द्व पनि मेटिने गरी कांग्रेसका नेताहरूले अघि सारेको मार्गलाई आत्मसात गर्न उहाँले सबैलाई आह्वान गर्नुभएकाे छ। सचेतक राईले कांग्रेसको आन्तरिक रूपान्तरणकाे बारेमा चर्चा गर्दै पार्टीको कार्यशैलीमा परिवर्तन आएको दावी गर्नुभयो ।