प्रकाश भट्ट-संवाददाता
कञ्चलनपुर । देशैभर यतिबेला रासायनिक मल नपाएको गुनासो चुलिएको छ ।
मल पाउने आशामा सहकारी र बिक्री केन्द्रहरुमा कृषकहरुको भीड लाग्ने गरेको हाे । कञ्चनपुरमा भने रासायनिक मलको विकल्पका रुपमा प्राङ्गारिक मलको उत्पादन र व्यावसायीकतातर्फ कृषकहरुको आकर्षण बढ्न थालेको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ कञ्चनपुरले करिब पाँच प्रतिशत प्राङ्गारिक पदार्थ हुनुपर्ने नेपालको माटोमा अहिले १ दशमलव ९६ प्रतिशत मात्रै पाईने गरेको जनाएकाे छ । रासायनिक मलको लगातारको प्रयोगले माटोको भौतिक, रासायनिक र जैविक गुण कमजोर बन्दै गएको हो ।
पछिल्लो समय कञ्चनपुरमा भने माटोको स्वास्थ्य जोगाउन र दिगो कृषि प्रणाली विकास गर्न प्राङ्गारिक मल, विशेषगरी भर्मी कम्पोस्टलाई प्रभावकारी विकल्पका रूपमा हेरिएको छ । गाई-भैंसीको गोबर र जैविक फोहोरलाई गँड्यौलाको माध्यमबाट प्रशोधन गरी बनाइने यो मलमा गोबर मलभन्दा पाँचदेखि एघार गुणासम्म बढी पोषक तत्व पाइने भएकाले रासायनिक मलको उपयुक्त विकल्पका रुपमा लिईएको हो ।
कम लगानीमै उत्पादन गर्न सकिने यस किसिमको मलले कृषकलाई बालीका लागि गुणस्तरीय मल उपलब्ध गराउनुको साथै अतिरिक्त उत्पादनमार्फत आम्दानीको स्रोत पनि बढाएको छ । यसले कञ्चनपुरका कृषकलाई व्यवसायीकतातर्फ उन्मुख गर्न अभिप्रेरीत पनि गरेको हाे । थोरै प्राविधिक ज्ञान लिएर आफ्नै खेतका लागि मल उत्पादन गर्न सक्ने र बजारमा समेत यसको राम्रो माग बढेपछि कृषकको आकर्षण बढेको छ ।
वातावरणविद् भोजराज भट्टले गँड्यौला खेतीले माटोको उर्वराशक्ति पुनःस्थापित गर्नुका साथै वातावरणीय सन्तुलन कायम गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे । यसका साथै स्वःप्रयोजनका लागि र व्यावसायिक रूपमै उत्पादन बढाउन सके बजारको समेत समस्या नहुने उहाँको भनाइ छ।
प्रत्येक वर्ष दोहोरिने रासायनिक मलको अभावबीच भर्मी कम्पोस्ट केवल विकल्प मात्र नभएर दिगो कृषि र स्वस्थ माटोतर्फको भरपर्दो आधार बन्ने देखिन्छ ।
विस्तृतमा भिडियाे रिपाेर्ट हेर्नुहाेस्:









प्रतिक्रिया दिनुहोस्