Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


लहान–२ मा स्वच्छता प्रवर्द्धनका लागि सडक नाटक तथा स्वच्छता र्‍याली सम्पन्न (तस्वीरसहित)

‘घर–घरको शान’ अभियान

104
Shares

लहान । समुदायमा स्वच्छता, शौचालयको नियमित प्रयोग तथा स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले लहान नगरपालिकाले सञ्चालन गरिरहेको ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत वडा नं. २ को दिनाभदारी टोल (धारा टोल) मा जनचेतनामूलक सडक नाटक तथा स्वच्छता र्‍याली सम्पन्न गरेको छ।

बिहीबार बिहान ९ बजे आयोजित कार्यक्रममा स्थानीय युवा, महिला, बालबालिका तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। अभियानको सुरुआत स्वच्छता सम्बन्धी नारा सहितको र्‍यालीबाट गरिएको थियो। सहभागीहरूले “गहना–ज्वेलरी, रूप–सिङ्गार, शौचालय बिना जीवन बेकार”, “स्वच्छता अपनाऔँ, बिरामी हटाऔँ” तथा “शौचालय हाम्रो सभ्यताको इज्जत हो” लगायतका नाराहरू लगाउँदै दिनाभदारी (धारा टोल) को परिक्रमा गरेका थिए।

र्‍यालीपछि प्रस्तुत गरिएको सडक नाटकले समुदायमा स्वच्छताको महत्वलाई जीवन्त रूपमा चित्रण गरेको थियो। नाटकमा खुला स्थानमा दिसापिसाब गर्ने बानी, व्यक्तिगत सरसफाइमा हुने लापरबाही तथा वातावरण प्रदूषणले निम्त्याउने स्वास्थ्य जोखिमलाई देखाउँदै शौचालयको नियमित प्रयोग र स्वच्छ जीवनशैली अपनाउनुपर्ने सन्देश दिइएको थियो। कलाकारहरूले मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको नाटकले दर्शकलाई हँसाउँदै सोच्न बाध्य बनाएको थियो।

नाटकको मुख्य सन्देश “शौचालय मर्यादासँग जोडिएको छ, शौचालय हाम्रो शान हो” रहेको थियो। प्रस्तुतिमार्फत शौचालयलाई केवल भौतिक संरचना नभई आत्मसम्मान, स्वास्थ्य सुरक्षा, पारिवारिक प्रतिष्ठा र सभ्य समाजको आधारका रूपमा प्रस्तुत गरिएको थियो। साथै सरसफाइलाई दैनिक व्यवहारको अभिन्न हिस्सा बनाउन र स्वच्छ वातावरण निर्माणमा प्रत्येक नागरिकको सक्रिय भूमिका आवश्यक रहेको विषयमा जोड दिइएको थियो।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले सडक नाटकजस्ता सिर्जनात्मक माध्यमबाट दिइने सन्देश प्रभावकारी हुने बताएका थिए। उनीहरूले यस्ता कार्यक्रमले स्वच्छता र शौचालय प्रयोगबारे समुदायमा सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले ‘घर–घरको शान, स्वच्छता अभियान’ सरसफाइमा मात्र सीमित नभई नागरिकको सोच, व्यवहार र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने अभियान भएको बताए। उनका अनुसार स्वच्छ र स्वस्थ समाज निर्माणका लागि भौतिक पूर्वाधार विकाससँगै जनचेतना अभिवृद्धि पनि उत्तिकै महत्वपूर्ण भएकाले सांस्कृतिक तथा सहभागितामूलक कार्यक्रमलाई अभियानको प्रभावकारी माध्यमका रूपमा अघि बढाइएको हो।

नगर प्रमुख चौधरीले शौचालयको नियमित तथा दिगो प्रयोग सुनिश्चित गर्दै व्यक्तिगत र वातावरणीय सरसफाइलाई नागरिकको दैनिक जीवनशैलीका रूपमा स्थापित गर्नु अभियानको मुख्य उद्देश्य रहेको बताए। उनले स्वच्छ र स्वस्थ नगर निर्माणमा प्रत्येक नागरिकको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै अभियानलाई निरन्तर प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

नगरपालिकाले आगामी दिनमा पनि नगरका विभिन्न वडा तथा टोलमा सडक नाटक, स्वच्छता र्‍याली, अन्तरक्रिया, सरसफाइ अभियान तथा अन्य जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै स्वच्छ, स्वस्थ, सुन्दर र व्यवस्थित लहान निर्माणको अभियानलाई निरन्तरता दिने जनाएको छ।