Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


सरकार जनताको ध्यान मोड्ने रणनीतिमा लागेको कांग्रेसको आराेप


65
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार नैतिक तथा राजनीतिक संकटमा पर्दा समस्याको समाधान खोज्नुको सट्टा जनताको ध्यान अन्यत्र मोड्ने रणनीतिमा लागेको आरोप लगाएको छ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनविश्वासको संकटमा पर्दा त्यसबाट बाहिरिने उपाय खोज्नुको सट्टा नयाँ–नयाँ विषय सिर्जना गरेर जनताको ध्यान मोड्ने प्रयास गरिरहेको टिप्पणी गर्नुभएको छ।

उहाँले सरकार नैतिक संकटमा पर्दा तथा राजनीतिक अक्षमता प्रदर्शन हुँदा उत्पन्न समस्याको समाधान खोज्नुको सट्टा विषयान्तर गर्न अर्को घटना सिर्जना गर्ने प्रवृत्ति देखिएको बताउनुभयो।

“नेपालको सन्दर्भमा जब सरकार नैतिक संकटमा पर्छ, जब राजनीतिक अक्षमता प्रदर्शित हुन्छ र जनविश्वासको संकटले सरकार घेरिन्छ, तब समस्याको समाधान सरकार खोज्दैन,” प्रवक्ता चालिसेले भन्नुभयो, “त्यो समस्यालाई विषयान्तर गर्न अर्को घटना घटाउँछ। यो चलाखी सरकारले गरिरहेको छ। ध्यान मोड्ने प्रयासमा सरकार लिप्त रहेको देखिन्छ।”

सरकारले जतिसुकै विषयान्तर गर्न खोजे पनि सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा नागरिक अधिकारसँग जोडिएका विषय समाजमा सधैँ जीवित रहने उहाँले बताउनुभयो।

“केही मुद्दा यस्ता हुन्छन्, जसको महत्व न समयले घटाउन सक्छ, न सरकारी प्रयासले छोप्न सक्छ,” उहाँले भन्नुभयो। कांग्रेसले वर्तमान सरकार अस्थिर होस् भन्ने चाहना नराखेको स्पष्ट पार्दै प्रवक्ता चालिसेले सुशासन, पारदर्शिता र उत्तरदायित्वका आधारमा सरकार बलियो तथा स्थिर बन्नुपर्ने पार्टीको धारणा रहेको दोहोर्‍याउनुभयो।

“हामी सरकारको अस्थिरता चाहँदैनौँ। सुशासन, पारदर्शिता र उत्तरदायित्वका आधारमा सरकार बलियो र स्थिर होस् भन्ने चाहना राख्नु हाम्रो कमजोरी होइन,” उहाँले भन्नुभयो।

प्रवक्ता चालिसेले कांग्रेसले कुनै पनि राजनीतिक दलको आन्तरिक विषयमा टिप्पणी गर्न नचाहेको उल्लेख गर्दै सरकारका गतिविधिका कारण लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठेको अवस्थामा भने मौन बस्न नसक्ने बताउनुभयो।

“हामी कुनै पनि दलको आन्तरिक विषयमा टिप्पणी गर्न चाहँदैनौँ। तर, सरकारका गतिविधिले लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठेको अवस्थामा हामी मौन रहन सक्दैनौँ,” उहाँले भन्नुभयो।

पछिल्ला राजनीतिक घटनाक्रमले सत्तामा पुगेका दलहरू संवैधानिक सर्वोच्चता तथा लोकतान्त्रिक मूल्यमान्यताप्रति समान रूपमा प्रतिबद्ध रहन्छन् भन्ने सुनिश्चितता नहुने देखाएको प्रवक्ता चालिसेको भनाइ थियो। “कहिलेकाहीँ सत्तामा पुग्नेबित्तिकै चुनाव जितेका दलहरू संवैधानिक सर्वोच्चताको पक्षमा नरहन सक्छन् भन्ने कुरा पनि विकसित राजनीतिक घटनाक्रमले देखाएको छ,” उहाँले भन्नुभयो, “विशेषगरी त्यो दलको विचारधारा, इतिहास, समर्पणभाव र भविष्यले लोकतन्त्रप्रतिको उसको विश्वासलाई परीक्षण गर्दछ।”