Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


एम्नेस्टी इन्टरनेशनलको कार्यशैलीप्रति रास्वपा सांसद न्यौपानेको आपत्ति

एम्नेस्टीका गतिविधिप्रति नेपाल अब चुप लागेर नबस्ने चेतावनी

195
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले एम्नेस्टी इन्टरनेशनलको कार्यशैलीप्रति आपत्ति जनाउनुभएको छ ।

सिंहदरबारमा बुधबार बसेकाे कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधान’का विषयमा छलफलका क्रममा सांसद न्यौपानेले यस्ताे आपत्ति जनाउनुभएको हाे । समितिले छलफलका लागि एम्नेस्टी इन्टरनेशनललाई आमन्त्रण गरे पनि संस्थाका प्रतिनिधि उपस्थित नभएपछि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

नेपालको सार्वभौम संसदले बोलाउँदा उपस्थित नहुनु वा लिखित जवाफ समेत नपठाउनु गैरजिम्मेवारपन भएको सांसद न्यौपानेको तर्क छ । एम्नेस्टी इन्टरनेशनलका गतिविधिप्रति विश्वस्तरमै प्रश्न उठिरहेको सन्दर्भमा नेपाल अब चुप लागेर नबस्ने चेतावनी समेत दिनुभयो । राष्ट्रियता र सार्वभौमिकताका सवालमा नेपालीहरू सदैव एकजुट हुने उल्लेख गर्दै उहाँले विगतका विनाशकारी भूकम्प र नाकाबन्दीको समयमा झैँ अहिले पनि राष्ट्रियताको रक्षाका लागि सबै पक्ष एक ठाउँमा रहेको बताउनुभएकाे छ।

सांसद न्यौपानेले नेपालमा मानव अधिकारको संरक्षण र गरिबी निवारणका क्षेत्रमा वैदेशिक संस्थाहरूको सहयोगको अपेक्षा गरिए पनि त्यसको आवरणमा मुलुकको सार्वभौमिकतामाथि आँच आउने काम स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । अन्तर्राष्ट्रिय संस्थाहरूलाई नेपालको कानून र मर्यादाभित्र रहेर सहयोग गर्न आग्रह गर्दै उहाँले आगामी दिनमा यस्ता खाले गैरजिम्मेवार कार्य दोहोरिन नहुनेमा जोड दिनुभएकाे छ।