काठमाडाैं । न्यूनतम पारिश्रमिकको निर्धारण र श्रम शोषणको अन्त्य लगायतका १५ बुँदे माग राखी यहि साउन १४ गतेदेखि आमरण अनसनमा बसेकी स्टाफ नर्स ज्योति रानाभाटको समर्थनमा स्वास्थ्यकर्मी तथा नर्सिङ समुदायले प्रदर्शन गरेका छन् ।
नर्स रानाभाटको आन्दोलनप्रति ऐक्यवद्धता जनाउन र उनका जायज मागहरूको शिघ्र सम्बोधनका लागि दबाब दिने उद्देश्यले काठमाडौं उपत्यकाका नर्स तथा स्वास्थ्यकर्मीहरूले वीर अस्पताल परिसरमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीहरूले ‘नर्स बचाऔं, स्वास्थ्य बचाऔं’, ‘सम्मानजनक सेवा सुविधाको सुनिश्चितता गर’, ‘नर्सिङ ऐन कार्यान्वयन गर’, ‘गुणस्तरीय नर्सिङ शिक्षा कायम गर’ र ‘बिरामी सुरक्षाको प्रत्याभूति गर’ जस्ता मागहरू लेखिएका प्लेकार्ड बाेकेर प्रदर्शन गरेका थिए ।
नर्सहरूको तलब, भत्ता, सेवा सुविधा र वृत्ति विकासका सम्बन्धमा सरकारसँग विगतमा पटक–पटक सम्झौता भए पनि ती कार्यान्वयन नहुँदा देशभरका नर्सहरू अन्यायमा परेको प्रदर्शनकारीहरूको गुनासो छ । आमरण अनसनको छैठाैं दिन पुग्दा नर्स रानाभाटको स्वास्थ्य अवस्था निकै कमजोर बनेको हाे । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई हाल वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरी उपचार भइरहेको छ ।
स्वास्थ्यकर्मीहरूले रानाभाटको जीवन रक्षाका लागि सरकारलाई तत्काल सार्थक वार्ता र सहमति गर्न आग्रह गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्