रत्नप्रसाद आचार्य, सुनसरी ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबेले सरुवाको निर्णय भइसकेपछि पनि अन्तिम समयसम्म जिल्लाको सुरक्षा कमाण्ड सम्हाल्दै सुनसरीलाई शान्त अवस्थामा पुर्याएर सोमबार बिदा भएका छन्।
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपका क्रममा एसपी थेबे बिरामी बाबुको उपचारका लागि बिदामा थिए। सो घटनामा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा प्रहरीको गोली लागेर १० जना स्थानीय घाइते भएका थिए। घाइतेमध्ये जयप्रकाश मेहता र ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, एसपी केशवकुमार थेबे तथा सशस्त्र प्रहरी बल नम्बर ४ गण सुनसरीका एसपी श्यामकुमार कार्कीको सरुवा गरेको थियो। प्रमुख जिल्ला अधिकारी घिमिरे तत्कालै गृह मन्त्रालय तानिए भने सशस्त्रका एसपी कार्कीले नयाँ जिम्मेवारी सम्हाल्नुअघि केही दिनसम्म सुनसरीमै सुरक्षा व्यवस्थापनको जिम्मेवारी निभाएका थिए।
यद्यपि सरुवाको निर्णय भइसकेपछि पनि प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार एसपी थेबेले आईतवारसम्म सुनसरीको सुरक्षा कमाण्ड सम्हाले। उनको नेतृत्वमा सुरक्षा निकायले समुदायबीच समन्वय, शान्ति बहाली तथा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउँदै जिल्लाको अवस्था क्रमशः सामान्य बनाएको स्थानीय प्रशासनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा सोमबार आयोजित कार्यक्रममा एसपी थेबेलाई औपचारिक रूपमा बिदाइ गरिएको थियो। कार्यक्रममा बोल्दै उनले सुनसरीमा कार्यकालभर साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण नागरिक, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सरोकारवालाप्रति आभार व्यक्त गरे। उनले आफ्नो सरुवा प्रहरी संगठनको नियमित प्रशासनिक प्रक्रिया भएको उल्लेख गर्दै जहाँ रहे पनि नागरिक सुरक्षाप्रति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
यता, उनको सरुवाप्रति स्थानीय स्तरमा असन्तुष्टि समेत देखिएको छ। इनरुवाका मानवअधिकारकर्मी रमेश भट्टराईले कठिन परिस्थितिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै सुनसरीलाई शान्त अवस्थामा पुर्याएको भन्दै एसपी थेबेको योगदानको प्रशंसा गरेका छन्। उनले जिल्लामा शान्ति स्थापना गर्न खेलेको भूमिकाका लागि थेबेलाई धन्यवाद दिएका छन्।
कप्तानगञ्ज घटनापछि तनावग्रस्त बनेको सुनसरी अन्ततः शान्त बन्दै गएपछि सुरक्षा व्यवस्थापनमा एसपी थेबेको भूमिका उल्लेखनीय रहेको भन्दै स्थानीयवासीले उनको कार्यशैलीको प्रशंसा गरेका छन्। सुनसरी शान्त बन्दै गएपछी सोमारदेखी देवानगन्ज गाउँपालिका र हरिनगर गाउँपालिकामा मात्र निषेधाज्ञा जारी राखी अन्य पालिकामा हटाईएको छ।









प्रतिक्रिया दिनुहोस्