Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


सरकारले ‘कानुनी प्रक्रिया मिच्यो, पपुलिजमले युवा भ्रमित पारियो’ : सांसद युवराज शर्मा


208
Shares

काठमाडाैं । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद युवराज शर्माले सरकारको कार्यशैलप्रति आपत्ति जनाउनुभएको छ ।

सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै शर्माले सरकारले जनसरोकारका मुद्दा सम्बोधन गर्नुको साटो सस्तो लोकप्रियता र भ्रमको खेती गरिरहेको आरोप लगाउनुभएको हो ।

उहाँले सरकारको कानूनी प्रक्रियाको उल्लंघन र बढ्दो ‘पपुलिजम’ ९लोकप्रियतावाद० प्रति कडा आपत्ति जनाउनु भयो । सांसद शर्माले सरकारले लोकतान्त्रिक विधि र कानुनी प्रक्रियालाई मिचेर निर्णय गर्ने गरेको र त्यसको परिणामस्वरुप अदालतबाट पटक–पटक धक्का खाइरहेको उल्लेख गर्नुभयो ।

राहदानी विभागको भीड र किसानका समस्या जस्ताको त्यस्तै रहेको भन्दै उहाँले सरकारको कार्यक्षमतामाaथि प्रश्न उठाउनु भयो । घर–घरमा राहदानी पुर्‍याउने दाबी गरिए पनि व्यवहारमा नागरिकले सास्ती भोग्नु परेको र किसानले मल तथा बीउको अभाव झेलिरहनु परेको उहाँको भनाइ छ । शर्माले जेन–जी भनिने नयाँ पुस्ता पपुलिजमको भ्रममा परिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रमजालले युवाहरूलाई उत्तेजित बनाएको र यसले मुलुकलाई कुन अवस्थामा पुर्‍याउने हो भन्ने यकिन नभएको उहाँले जिकिर गर्नुभयो ।

नेपाल सम्पती शुद्धीकरणको ग्रे लिस्टमा पर्ने जोखिममा रहेको बेला संगठित अपराधका आरोपीलाई उन्मुक्ति दिने प्रयास हुनु दुर्भाग्यपूर्ण भएको उहाँको तर्क छ । देशमा बढ्दै गएको साम्प्रदायिक तनावप्रति सरकारलाई सचेत गराउनु भयो । नेताहरूमा देखिएको वैचारिक विचलन र राजनीतिक पाखण्डप्रति टिप्पणी गर्दै उहाँले कम्युनिष्ट नेताहरूले पशुपतिमा गर्ने विशेष पूजा र काँग्रेसका केही नेताहरूको तर्कविहीन आस्थाको प्रदर्शनलाई ‘विचारच्युत नाङ्गोपन’ को संज्ञा दिनुभयो ।

सांसद शर्माले भ्रष्टाचार र तस्करीका घटनामा पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । नेपाल सुन, कोकेन र गाँजा तस्करीको ट्रान्जिट पोइन्ट बन्दै गएको तथा पर्यावरण विनाश भइरहेको भन्दै उहाँले यस्ता कुटनीतिक र आर्थिक संकटबाट पार पाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । कसैले उपहारका नाममा महँगो गाडी चढ्ने गरेको विषयलाई संकेत गर्दै उहाँले यसलाई ‘उत्कोच’ वा ‘उपहार’ के मान्ने भनी प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान सरकारले लोकतान्त्रिक विधि मिचेर गरेका निर्णयहरू अदालतबाट बदर भइरहेका छन् । अहिले फेरि न्यायाधीशलाई महाअभियोग लगाउने चर्चा चल्नुले सरकारको नियतमाथि प्रश्न उठाएको छ । नेपाल धार्मिक सहिष्णुताको पक्षधर भनिए पनि वर्षेनी साम्प्रदायिक दङ्गाहरू भइरहेका छन् । अल्पसङ्ख्यकहरूले असुरक्षित महशुस गरिरहेका छन् । सरकार प्रमुख र राष्ट्र प्रमुख यस्ता संवेदनशील विषयमा सचेत हुनुपर्दछ ।’

उहाँले पुराना दलहरू प्रतिपक्षविहीन भएर सत्ताको म्युजिकल चेयरमा मात्र केन्द्रित हुँदा अहिलेको राजनीतिक अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले सरकारलाई विद्यालय, कर्मचारी र विद्यार्थी सङ्गठनमाथि प्रतिवन्ध लगाउन खोज्नुभन्दा समस्याको चुरो पहिल्याउन सुझाव दिनुभयो ।