काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्रवाह हुने भ्रमपूर्ण र मिथ्या सूचनाको पछि नलाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयमा शुक्रबार उपलब्ध पदाधिकारी, केन्द्रिय सदस्य तथा जुममार्फत कोशी र मधेस प्रदेशका विभिन्न तहका नेताहरूसँगको छलफलमा बोल्दै सभापति थापाले यस्ताे निर्देशन दिनुभएको हाे । जिम्मेवार राजनीतिक नेतृत्वले कुनैपनि विषयमा धारणा बनाउनुअघि त्यसको सत्यतथ्य जाँच गर्नुपर्नेमा जोड दिनुभयाे ।
सभापति थापाले नेपाली काँग्रेस मुलुकको मुख्य र अभिभावक शक्ति भएको उल्लेख गर्नुभएकाे छ। समाजमा देखा पर्ने जटिल परिस्थितिलाई सम्हाल्ने प्रमुख जिम्मेवारी काँग्रेसकै भएको बताउनुभयो । पार्टीका कामकारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन शनिबार बिदाको दिन पनि केन्द्रिय कार्यालय खुला रहने उहाँले जानकारी दिनुभएकाे छ। पार्टीका कर्मचारी, पदाधिकारी र स्वयं आफू पनि नेता कार्यकर्ताको सम्पर्कमा रहने भन्दै थापाले संसदीय दलका नेता र सांसदहरूलाई समेत परिचालन गरिएको बताउनुभयो ।
सभापति थापाले बाह्य चर्चा र आलोचनाभन्दा पनि आफ्नो कर्तव्य र जिम्मेवारीमा केन्द्रित हुन सबैलाई आग्रह गर्नुभएकाे छ । छलफलमा केन्द्रीय नेताहरूका साथै कोशी र मधेश प्रदेशका प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्