काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशमा उत्पन्न धार्मिक तनावका कारण उत्पन्न वर्तमान परिस्थितिमा दोषी खोज्ने भन्दा समस्या समाधान गर्नेतर्फ केन्द्रित हुन सबैलाई आग्रह गर्नुभएकाे छ।
सिंहदरबारमा बिहीबार राति सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आग्रह गर्नुभएकाे हाे। उहाँले घटनाको नैतिक र राजनीतिक जिम्मेवारी कसले लिनुपर्ने हो भन्ने विषयमा समीक्षा गर्न रास्वपा गम्भीर रहेको समेत बतउनुभयो । सभापति लामिछानेले तत्काल दोषी को हो भनेर परिस्थितिलाई थप जटिल बनाउनु भन्दा धार्मिक सहिष्णुता कायम गर्नतर्फ ध्यान दिन सबैलाई आग्रह समेत गर्नुभएकाे छ। उहाँले सुनसरी र सिरहामा उत्पन्न परिस्थितिकाे बारेमा मधेशवादी दलहरुसँग परामर्श समेत गर्नुभयो ।
उहाँले भन्नुभयो,- ‘भएका कमजोरीको समीक्षा पछि गरौंला, कसैले केही कमजोरी गरेको रहेछ भने राजनीतिक र नैतिक रुपमा कहाँ जिम्मेवार गराउने हो हामी गराउँला । त्यसमा निर्धक्क रहनुहोला । त्यसकारण अहिले कसले के गर्यो ? कसको गल्ती भयो ? यो विषयमा हामी समीक्षा गरौँला । अहिले दोषको बाँडफाँड नगरौँ । दोष लगाउने कोही मान्छे चाहिएको छ भने मलाई दोष लगाउनुहोस् । म सत्तारुढ पार्टीको सभापति हो । तर अहिले दोषी खोज्ने काम नगरौँ ।’
सभापति लामिछानेले सरकार मधेशसहित पूर्वी जिल्लामा विकसित समस्या समाधान गर्न गम्भीर भएर लागिरहेको समेत दावी गर्नुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्