Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


जनकपुरधाम र सिरहामा कर्फ्यु


585
Shares

काठमाडौं ।
सुनसरीमा भएको हिंसात्मक घटनाको विरोध गर्दै सिरहाको गोलबजार र लहानमा भएको प्रदर्शन हिंसात्मक हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको छ ।

लहानमा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेपछि पनि प्रदर्शन नरोकिएपछि प्रहरी गोली चलाउनँदा लहानमा दुई जना घाइते भएका छन् । सिरहा जिल्ला प्रशासन कार्यालयले दिउँसो २ बजदेखि अर्को आदेश नभएसम्मका लागि केही क्षेत्रमा कर्फ्यू जारी गरेको हो ।

सिरहाको पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चौक, उत्तरतर्फ गोलबजार नगरपालिका–६ को सैनिक चौकदेखि दक्षितर्फ गोलबजार नगरपालिका–४ को राप्र बहुमुखी क्याम्पस वरिपरिको क्षेत्रमा कर्फ्यू जारी गरिएको जनाइएको छ । उता, जनकपुरधाममा ‘हिन्दु सम्राट नेपाल’ ले आह्वान गरेको बन्द हिंसात्मक हुने खतरा बढेपछि जनकपुरधाम र आसपासका क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको छ ।

धनुषका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले आज दिउँसो साढे ३ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गर्नुभएको हो । उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै पश्चिम सिनुरजोडा चौकसम्म पूर्वमा लक्ष्मीपुर बगेवासम्म, पूर्वमा बेलौनी रोड– एम.क्यु.स्टिलबाट ५ सय मिटर पूर्व पेट्रोल पम्प हुलाकी सडकदेखि राष्ट्रि प्राविसम्म, दक्षिणमा नगराइन नगरपालिका देखि नगराइन चोकसम्म र पश्चिममा सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–स्कोन जनकपुर–दुतमती पुल, बेला, कादरी मस्जिदमा कर्फ्यु लागू हुनेछ ।

हिन्दू सम्राट नेपालले आह्वान गरेको बन्दका कारण आज दिनभर जनकपुरका मुख्य बजार क्षेत्र, पसल तथा व्यापारिक प्रतिष्ठानहरू बिहानैदेखि ठप्प रहेका थिए । जनकपुरधामका प्रमुख व्यापारिक केन्द्रहरू जनक चोक, शिव चोक, कदम चोक, रामानन्द चोक र भानु चोक लगायतका क्षेत्रमा अधिकांश पसलहरू बन्द रहे । केही पसलहरू खुलेकोमा उक्त संगठनका युवाहरूले जबर्जस्ती बन्द गराएका थिए ।

उता, विराटनगरमा कत्पानगञ्ज घटनाको निष्पक्ष र छानबिनको माग गर्दै प्रदर्शन गरिएको छ । स्थानीय हनुमान मन्दिर परिसरमा भेला भएका सर्वसाधारण तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

सुनसरीको कप्तानगञ्ज घटनापछि सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न र कुनै पनि किसिमका अप्रिय घटना हुन नदिन मोरङ प्रशासन सक्रिय रहेको छ । मोरङ जिल्ला प्रशासन कार्यालयले आजै सर्वपक्षीय छलफल राखेको छ ।

Skip This