काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले गुठी पीडित किसानका समस्या समाधान गर्न र देशव्यापी रूपमा फैलिएको बाँदर आतंक नियन्त्रणका लागि तत्काल प्रभावकारी कानून निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक दुलालले किसानका गम्भीर समस्याहरूतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको हो । प्रमुख सचेतक दुलालले ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्पदाहरूको संरक्षण राज्यको दायित्व भएपनि गुठीका नाममा वर्षौंदेखि जोतभोग गर्दै आएका वास्तविक किसान अन्यायमा परेको बताउनुभयो ।
सिन्धुपाल्चोकको फटकशिलाको उदाहरण प्रश्तुत गर्दै उहाँले विक्रम संवत १८५६ देखि पशुपति महास्नान गुठीका नाममा रहेका झन्डै १२ सय रोपनी जग्गाका कारण किसानहरूले लामो समयदेखि श्रम र जिन्सी करको शोषण खेप्नुपरेको उल्लेख गर्नुभयो । सिन्धुपाल्चोकमा मात्रै २२ हजार घरधुरी गुठी जग्गाबाट प्रत्यक्ष प्रभावित रहेको जानकारी दिँदै उहाँले सर्वदलीय र सर्वपक्षीय परामर्शका आधारमा अविलम्ब ‘गुठी विधेयक’ संसदमा ल्याउन सरकारसँग माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘विगतमा किसानहरूले ३५ किलोमिटर भारी बोकेर पशुपतिसम्म जिन्सी बुझाउनुपर्ने बाध्यता थियो । हाल सो गुठी सञ्चालनमा नभए पनि किसानले जग्गाको स्वामित्व पाएका छैनन्, जसका कारण उनीहरूले न बैंकबाट कर्जा लिन सक्छन्, न त हक हस्तान्तरण नै गर्न सक्छन् । किसानहरू बिहानदेखि बेलुकासम्म गुलेली बोकेर बाँदर धपाउनै व्यस्त हुनुपर्ने अवस्था छ । यो देशलाई कृषिप्रधान बनाउने हो भने बाँदर नियन्त्रण अपरिहार्य आवश्यकता भइसकेको छ ।’ देशभरका किसान बाँदर आतंकबाट आक्रान्त भएको भन्दै प्रमुख सचेतक दुलालले बाँदरले अन्नबाली सखाप पारेका कारण किसानले सास्ती भोगिरहेको बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्