धुलिखेल । धुलिखेल अस्पतालमा नेपालकै पहिलो पेल्भिक फ्लोर सेन्टरको विधिवत उद्घाटन गरिएकाे छ।
यस पेल्भिक फ्लोर सेन्टरले पेल्भिक फ्लोर विकारहरूको व्यापक निदान, उपचार र पुनस्थार्पनाका लागि नेपालको पहिलो समर्पित बहुआयामिक केन्द्रको रुपमा काम गर्ने छ ।
धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ माकजु श्रेष्ठ, नेपाल सोसाइटी अफ अब्स्टेट्रिशियन्स एण्ड गाइनोकोलोजिस्टका अध्यक्ष प्रा. डा. पदम राज पन्त, विभिन्न अस्पतालका संकाय सदस्यहरू र विशिष्ट आमन्त्रित अतिथिहरूको उपस्थितिमा अस्ट्रेलियाली स्त्री रोग विशेषज्ञ प्रो. डा. रेमन्ड पिटर होडसनले केन्द्रको आधिकारिक उद्घाटन गर्नुभयो ।
पेल्भिक फ्लोर विकारहरूले महिला र पुरुष दुवैमा पेल्भिक अंग प्रोल्याप्स, पिसाब र दिसाको असंयम, दीर्घकालीन पेल्भिक दुखाइ र यौन दुर्बलता सहित विभिन्न अवस्थाहरू समेट्छन् । अत्यधिक प्रचलित भए पनि, यी अवस्थाहरू प्रायः कम निदान र उपचार गर्नबाट बञ्चित रहन्छन्, जसले बिरामीहरूको जीवनको गुणस्तरलाई उल्लेखनीय रूपमा नकारात्मक असर गर्छ ।
धुलिखेल अस्पतालको युरोगाइनेकोलोजी विभागको नेतृत्व गर्दै आएकी प्रा. डा. अञ्जना डंगोलका अनुसार, सीमित जनचेतना, विशेष सेवाको अभाव र अन्धविश्वासका कारणले नेपालका धेरै व्यक्तिहरूलाई समयमै चिकित्सा सेवाबाट बञ्चित भैररहेको छ । वहाँले जोड दिंदै भन्नु भयो कि “पेल्भिक फ्लोर विकारहरू प्रायः पृथक अवस्थाको रूपमा व्यवस्थापन गरिन्छ, तर अधिकतम उपलब्धि तथा परिणामहरूको लागि बहुआयामिक दृष्टिकोण आवश्यक पर्दछ” ।
नयाँ स्थापित पेल्भिक फ्लोर सेन्टरले युरोगाइनोकोलोजिस्ट, कोलोरेक्टल सर्जन, युरोलोजिस्ट, फिजियोथेरापिस्ट, विशेषज्ञ नर्सहरू र अन्य सम्बद्ध स्वास्थ्यकर्मीहरूको टोलीलाई एउटै छानामुनि ल्याउँछ जसले प्रमाणमा–आधारित, बिरामी–केन्द्रित सेवा प्रदान गर्दछ ।
पेल्भिक फ्लोर सेन्टरको स्थापनाले धुलिखेल अस्पतालको विशेष स्वास्थ्य सेवाहरू विस्तार गर्ने र महिला तथा पेल्भिक स्वास्थ्यमा पूरा नभएका आवश्यकताहरूलाई पुरा गर्ने र यस अस्पतालले स्वास्थ्य क्षेत्रमा गर्दै आएको निरन्तर सेवाकाे प्रतिबद्धतालाई समेत जाहेर गरेकाे छ ।
अस्पतालले देशभरका स्वास्थ्यकर्मीहरूबाट सिफारिस गरिएको विरामी तथा स्वास्थ्य सल्लाहको लागि स्वागत गर्दै पेल्भिक फ्लोर विकारका लक्षणहरू देखा परेको अवस्थामा उक्त व्यक्तिहरूलाई समयमै मूल्याङ्कन र उपयुक्त उपचारका लागि अस्पताल तत्पर रहेकाे समेत जनाएकाे छ ।









प्रतिक्रिया दिनुहोस्