काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) का लागि बहुप्रतिक्षित खेलाडी अक्सन आइतबार काठमाडौंमा सुरु भएको छ।
नेपालको राष्ट्रिय खेल भलिबलमा व्यावसायिकता प्रवर्द्धन गर्ने र खेलाडीहरूलाई दिगो खेल जीवनतर्फ उन्मुख गराउने उद्देश्यका साथ यो ऐतिहासिक अक्सन आयोजना गरिएको हो ।
देशभरका कुल १२९ जना खेलाडी सहभागी रहेको अक्सनमा ६ वटै फ्रेन्चाइज टोलीहरूले आपसमा प्रतिस्पर्धा गर्दै आफ्नो अन्तिम टोलीको निर्माण गर्नेछन् । रणनीतिक सन्तुलन र टोली निर्माणलाई सहज बनाउन आयोजकले खेलाडीहरूलाई उनीहरूको अनुभव र क्षमताका आधारमा दुई श्रेणीमा वर्गीकरण गरेको छ । जसअन्तर्गत ‘ए’ क्याटेगोरीमा ५६ जना र ‘बी’ क्याटेगोरीमा ७३ जना खेलाडी सूचीकृत छन् ।
केडिया ग्रुपको मुख्य आयोजना तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको यो लिग आगामी भदौ १२ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आयोजना हुँदैछ । घरेलु भलिबलको संरचनालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार नयाँ उचाइमा पुर्याउने लक्ष्य राखिएको यस लिगमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स सुदूरपश्चिम गरी ६ वटा टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । देशका शीर्ष प्रतिभाहरूको सहभागिता रहने यस प्रतियोगिताले नेपाली भलिबलमा नयाँ व्यावसायिक अवसर, उच्च प्रतिस्पर्धा र दर्शकहरूमाझ अभूतपूर्व उत्साह थप्ने विश्वास लिइएको छ ।









प्रतिक्रिया दिनुहोस्