काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले भारत र बंगलादेश नेपालसँग विद्युत खरिद गर्न आतुर भएपनि नेपालले उत्पादन बढाउन नसकेको बताउनुभएको छ ।
आईतवार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले मागअनुसार नेपालले विद्युत उत्पादन गर्न नसकेको बताउनुभएको हो । नेपालले करिव ८७ प्रतिशत वस्तु आयात र १३ प्रतिशत मात्र निर्यात गर्ने गरेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी बन्न विद्युत उत्पादनमा वृद्धि गरि निर्यातमा ध्यान दिनुपर्ने बताउनु भयो ।
उहाँकाअनुसार बंगलादेशले ठूलो परिमाणमा नेपालसंग विद्युतको अपेक्षा गरिरहेको छ । भारतलाई पनि स्वच्छ ऊर्जाको आवश्यकता रहेकाले विद्युत निर्यातको पर्याप्त सम्भावना रहेको उहाँले बताउनु भयो । तर नेपालमा विद्युत उत्पादन विस्तारको गति अत्यन्त सुस्त रहेको उहाँको भनाई छ ।
अध्यक्ष यादवले विगतमा सुरक्षा तथा रणनीतिक कारण देखाउँदै भारतले चिनियाँ लगानीमा उत्पादित नेपाली विद्युत खरिदमा अनिच्छा देखाएपनि अहिले त्यो परिस्थिति नरहेको बताउनु भयो । उहाँले चीन–भारतबीच व्यापार र लगानी विस्तार भइरहेकाले नेपालले कूटनीतिक पहल बढाएमा विद्युत निर्यातमा देखिएका अवरोध हट्न उल्लेख गर्नुभयो । उहाँले नेपालको बढ्दो व्यापार घाटा कम गर्ने सबैभन्दा प्रभावकारी उपाय नै जलस्रोतको उपयोगमार्फत विद्युत उत्पादन र यसको व्यापार रहेको बताउनु भयो ।
विद्युत उत्पादनसँगै सिंचाई र खानेपानी क्षेत्रमा पनि जलस्रोतको प्रभावकारी उपयोग गर्नसके नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रतर्फ अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने उहाँको दाबी छ । उहाँले भन्नुभयो, ‘हामी करिव–करिव ८७ प्रतिशत आयात गर्छौं, १३ प्रतिशत हामी मात्रै निर्यात गर्छौं । हाम्रो व्यापार घाटा निकै ठूलो छ । अब यो व्यापार घाटालाई कम गर्नका लागि अन्तर्राष्ट्रिय बजारमा हाम्रो बिक्ने के छ हामीसँग ? के उत्पादनलाई लिएर हामी त्यो व्यापार घाटा कम गर्ने ? त्यो व्यापार घाटा कम गर्ने सबैभन्दा ठूलो उपाय भनेकै जलस्रोत हो, विद्युत उत्पादन नै हो । विद्युत व्यापार गर्ने भारत, बंगलादेश लगायत केही मुलुकहरुसँग समझदारी पनि भएको छ । बंगलादेशलाई ठूलो मात्रामा बिजुली चाहिएको छ, भारतलाई पनि चाहिएको छ । हुन त भारतले अहिले सोलारमा अलि बढी जोड दिइरहेको देखिन्छ । तर सबैभन्दा सेफ क्लीन इनर्जी नै हो । यसलाई रिप्लेस अरुले गर्न निकै कठिन छ । ठूलो मात्रामा भारतलाई बिजुलीको जरुरी छ । भारतको प्रधानमन्त्री नेपाल भ्रमणको बेलामा नेपाललाई हामी उत्पादनमा सहयोग गर्छौ, किन्छौँ, पैसा दिएर किन्छौँ । बिजुली तपाईहरु बेच्नुस्, उत्पादन गर्नुस्, बेच्नुस् हामी किन्न तयार छौ, भनेका छन् । बंगलादेशले नेपालतिर हेरेर बिजुली कहिले नेपालको बिजुली आउने हो भनेर हेरिरहेको हुन्छ । तर हाम्रो यहाँ चाहीँ के हो, उत्पादन एकदम स्लो छ । कहिले एउटालाई ठेक्का दियो अनि रद्द ग¥यो, फेरि अर्कालाई दियो त्यसको रद्ध ग¥यो, फेरि एउटाले आधा काम ग¥यो, छोडेर हिँड्यो, फेरि अर्कोले शुरु ग¥यो, हामी यसै गरेर कहाँ न कहाँ अल्मलिएको छ । यस विषयमा पनि ध्यान दिएर विद्युत् उत्पादन, सिंचाई र विद्युत उत्पादन, खानेपानीतर्फ उत्पादन बढाउनेतर्फ ध्यान दिएर अगाडि बढ्ने हो भने यो वाटर रिसोर्सले नेपाललाई लिस्ट डेभलप्ड कन्ट्रीबाट डेभलपिङ कन्ट्रीमा सजिलै लैजानसक्छ । अहिले परिस्थितिहरु चेन्ज भइरहेको छ, विगतमा भारतले सेक्युरिटी र स्ट्राटेजिक कारणले नेपालमा चिनियाँ लगानीमा बनेका र उत्पादन हुने हामी किन्दैनौ भनेको थियो । तर अहिले स्थिति बदलिँदै गएको छ, इनर्जीको आवश्यकता धेरै भएको छ, चीन र भारतको बीचमा व्यापार धेरै माथि पुगेको छ । भारतमै पनि चिनियाँ इन्भेस्टमेन्ट निकै बढेर गएको छ । त्यो कन्टेक्स्टमा नेपालले लबिङ गर्ने हो भने त्यो समस्या रहला जस्तो मलाई लाग्दैन । किनभने त्यो बिजुलीबाट भारतले पनि निकै क्षेत्रमा उसले विकास अगाडि बढाउने सम्भावना रहेको छ । तर उत्पादन नै हामीले गरेर बेच्न सक्ने अवस्थामा एकदमै पछि परेको छौँ । यो विद्युत, सिंचाई लगायतका क्षेत्रमा यसको उपयोग गरेर नेपाललाई समृद्ध बनाउँ, मुलुक बनाउने हामीसँग जुन नेचुरल रिसोर्स छ । यो खेर बगेर गइराखेको छ । बढी राजनीतिकरणले गरेर पनि होला । बेलाबेलामा धेरै राजनीतिकरण हुने गरेको छ, त्यसले पनि समस्या विगतमा नदेखिएको होइन तर यी विषयलाई हल गरेर अगाडि बढ्नुपर्छ ।’
उहाँले चुरे संरक्षणमा जोड दिन पनि सरकारसँग आग्रह गर्नुभयो । चुरे क्षेत्रमा भएको दोहन र वन फँडानीले जलस्रोतमा समस्या देखिएको बताउनु भयो । पछिल्लो समयमा जलवायू परिवर्तन र चुरे विनासको कारण हिमालमा हिउँ नहुने तथा तराईमा सुख्खापन हुँदा खानेपानी, सिँचाई, उर्जा लगायतका क्षेत्रमा ठूलो असर परिरहेको उहाँको भनाई छ । उहाँले चुरे संरक्षण गर्नै राज्यले ध्यान नदिएको पनि गुनासो गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्