Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


प्रश्नपत्र चुहावट प्रकरणमा संलग्नलाई कडा सजाय दिन ‘फास्ट ट्र्याक’ अदालत स्थापना गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा


13
Shares

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावटमा संलग्न व्यक्तिलाई छिटो र कडा सजाय दिन ‘फास्ट ट्र्याक’ अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ ।

राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा (नीट) मा भएको भनिएको प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर देशैभर विरोध प्रदर्शन चर्किरहेकाे समयमा प्रधानमन्त्री मोदीले बिहीबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यस्ताे घोषणा गर्नुभएको हाे । उहाँले युवाको भविष्यसँग खेलवाड गर्ने जोसुकैलाई पनि नछोडिने स्पष्ट पार्दै सम्बन्धित निकायलाई आवश्यक सबै प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिनुभयाे ।

युवाको भविष्य सरकारको सर्वोच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै प्रश्नपत्र चुहावटमा संलग्नलाई कानूनी दायरामा ल्याई शीघ्र सजाय सुनिश्चित गर्न विशेष अदालत गठन गर्ने निर्णय गरिएको बताउनुभएकाे छ । विद्यार्थीको हित संरक्षणका लागि सरकारले थप कदम चाल्दै जाने र युवाको भविष्यमा क्षति पुर्‍याउने प्रयास कसैलाई पनि छुट नदिने बताउनुभयाे ।

प्रधानमन्त्री माेदीको यो घोषणा यहि जुलाई २० तारिखदेखि ‘चलो संसद्’ अभियानसहित दिल्लीलगायत विभिन्न शहरमा भइरहेको प्रदर्शनकाबीच आएको हो । आन्दोलनरत पक्षले आन्दोलन अन्त्यका लागि ३ वटा प्रमुख माग अघि सारेको छ । आन्दोलनको नेतृत्व गरेको कक्रोच जनता पार्टी (सीजेपी) का प्रवक्ता सौरभ दासले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, नीट प्रश्नपत्र चुहावटका कारण आत्महत्या गरेका विद्यार्थीका परिवारलाई १ करोड रुपैयाँ क्षतिपूर्ति तथा शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध दर्ता गरिएका सबै मुद्दा फिर्ता लिनुपर्ने माग राख्नुभएको छ । साथै भविष्यमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएकामाथि यस्ता मुद्दा नचलाइने सरकारी प्रत्याभूति पनि माग गरिएको उहाँले बताउनुभयो ।

प्रवक्ता दासले शिक्षामन्त्रीको राजीनामा आन्दोलनको अपरिवर्तनीय माग भएको उल्लेख गर्दै माग पूरा नभएसम्म आन्दोलन चलिरहने स्पष्ट पार्नुभएको समाचार संस्था एएनआईले जनाएको छ । उहाँले अस्पतालमा उपचाररत आन्दोलनकर्मी सोनम वाङचुकसँग पटक–पटक छलफल भएको र आन्दोलनलाई पूर्ण रूपमा शान्तिपूर्ण बनाइराख्ने सहमति भएकाे बताउनुयाे । वाङचुकले पनि सार्वजनिक रूपमा प्रदर्शनकारीलाई संयम अपनाउन र आन्दोलनलाई शान्तिपूर्ण रूपमा अघि बढाउन अपील गर्नुभएको प्रवक्ता दासले जानकारी दिनुभएकाे छ ।

प्रवक्ता दासले विगतका आन्दोलनमा असामाजिक तत्त्व घुसाएर शान्तिपूर्ण प्रदर्शनलाई बदनाम गर्ने प्रयास हुने गरेको आरोप लगाउँदै यस पटक त्यस्तो अवस्था दोहोरिन नदिन सतर्क रहन आग्रह गर्नुभयो । दिल्ली प्रहरीले प्रदर्शनका क्रममा भएको झडपमा विशेष आयुक्तदेखि सहायक आयुक्त तहसम्मका वरिष्ठ अधिकारी तथा महिला प्रहरीसहित १ सय १८ भन्दा धेरै प्रहरी कर्मचारी घाइते भएकाे जनाएकाे छ।

त्यस्तै, प्रहरीले करिब ६० जना प्रदर्शनकारी पनि घाइते भएकाे विवरण सार्वजनिक भएको बताएकाे हाे ।