लहान, सिरहा। बिहानको चहलपहलसँगै लहानका सडकहरू बिस्तारै जाग्छन्। पसलका सटर खुल्छन्, बजारमा मानिसहरूको भीड बढ्छ, ई–रिक्शाहरू यात्रु बोकेर दौडिन थाल्छन्। यही दैनिक दृश्यबीच अहिले एउटा नयाँ कुरा देखिन थालेको छ सडक किनारका हरिया बोर्डहरू, रङ्गिएका भित्ताहरू र सवारीसाधनमा टाँसिएका सन्देशहरूले नागरिकसँग संवाद गर्न थालेका छन्। ती सन्देशको एउटै आवाज छ ।
“शौचालय हमर सबहक शान अछि।”
केही शब्दमा लेखिएको यो सन्देशले लहानमा स्वच्छताको नयाँ बहस सुरु गरेको छ। यसले शौचालयलाई केवल आवश्यकताको वस्तु होइन, सम्मान, स्वास्थ्य, सुरक्षा र सभ्य जीवनको आधार का रूपमा बुझाउने प्रयास गरिरहेको छ।

लहान नगरपालिकाले अघि सारेको ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत नगरका २४ वटै वडामा नयाँ शैलीको जनचेतनामूलक अभियान सञ्चालन गरिएको छ। सडकका दायाँ–बायाँ, हाटबजार, गाउँ–टोल, सार्वजनिक स्थान तथा ई–रिक्शासम्म पुग्ने गरी आकर्षक हरियो बोर्ड, वाल पेन्टिङ र स्टिकरमार्फत स्वच्छताको सन्देश फैलाइएको हो।

यसपटकको अभियानको विशेषता यसको प्रस्तुति हो। सामान्य सूचना वा अपिलभन्दा फरक, नगरपालिकाले नागरिकको दैनिक जीवनसँग जोडिने स्थानलाई नै सन्देशको माध्यम बनाएको छ। मानिसहरू जहाँ हरेक दिन पुग्छन्, त्यहीँबाट स्वच्छता र मर्यादाको कुरा सम्झाउने प्रयास गरिएको छ।

स्थानीय मैथिली भाषामा लेखिएको “शौचालय हमर सबहक शान अछि” भन्ने वाक्यले अभियानलाई अझ आत्मीय बनाएको छ। आफ्नै भाषामा आएको सन्देशले नागरिकलाई केवल जानकारी मात्र नभइ आफ्नो समुदाय र जिम्मेवारीसँग जोड्ने काम गरेकाे छ ।

अभियानको मुख्य कुरा शौचालय हाम्रो शान हो” भन्ने सन्देशमा केन्द्रित छ। यसले शौचालयलाई परिवारको प्रतिष्ठान, महिलाको सम्मान, बालबालिकाको स्वास्थ्य र सुरक्षित समाज निर्माणसँग जोडिएकाे छ ।










प्रतिक्रिया दिनुहोस्