Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमा : पूर्णबहादुर खड्का


65
Shares

काठमाडौं । नेपाली काँग्रेसका निःवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देशको राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्था इतिहासकै गम्भीर संकटमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

वीपी कोईराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौंमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै खड्काले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले सरकारको कार्यशैली अराजकता र अधिनायकवादतर्फ उन्मुख भएको आरोप पनि लगाउनु भयो ।

उहाँले संसदमार्फत पारित भएको विषय प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत उल्ट्याउने अभ्यासले संवैधानिक प्रणामीमाथि चुनौती सिर्जना गरेको बताउनुभयो । उहाँले यी सबै कुरालाई गम्भीरतापूर्वक लिएर पार्टीको सबै पक्ष गम्भीर बन्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले पार्टी सभापति गगनकुमार थापाको इच्छाबिना पार्टी एकता सम्भव नहुने समेत स्पष्ट पार्नुभयो । उहाँले पार्टी एकताको लागि आफूहरु तयार नभएको भनि फैल्याएको भ्रममा विश्वास नगर्न समेत कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको देशको राष्ट्रियता इतिहासकै ठूलो संकटमा छ । संविधान संकटमा छ । जनताले पाएका अधिकारहरु, संघियताहरुलाई ललकार्ने काम भइराको छ ।

लोकतन्त्रलाई ललकार्ने काम भइराको छ । प्रधानमन्त्री बालेन शाहजी संसदले पास गरेको करलाई फेसबुकबाट निर्णय उल्ट्याउँदै हुनुहुन्छ । कहाँ पुग्दैछ देश रु संसदले पास गरेको करलाई प्रधानमन्त्रीले फेसबुकबाट सच्याई दिनु भयो । यसरि देश कहाँ पुग्छ ।

योभन्दा ठूलो अराजकता, योभन्दा ठूलो निरंकुशता, योभन्दा ठूलो अधिनायकवाद तिरको अग्रसरता अरु हुन सक्दैन । यी राष्ट्रियताको संकट मडारिएको, आकाशमा मडारिएको चौबिसै घण्टा मडारिएको कालो बादलका संकेतहरु हुन् । हो त्यसैले यी सबै कुरा प्रति हामी जिम्मेवार बनौँ ।’ उहाँले पार्टी यस्तै अवस्थाबाट चल्न नसक्ने भन्दै राष्ट्रिय भेलामार्फत उचित निर्णय लिनुपर्नेमा जोड दिनुभयो ।