Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


जटिल राजनीतिक परिस्थितिमा दलहरूबीच सहकार्य र मोर्चाबन्दी आवश्यकः दाहाल


117
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको राष्ट्रिय स्वाधीनतामा देखिएको जोखिम र जटिल राजनीतिक परिस्थितिको सामना गर्न परिवर्तनकारी शक्तिहरूबीच सहकार्य हुनुपर्ने बताउनुभएको छ । 

बुधवार जनकपुरमा आयोजित मधेस प्रदेश समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै संयोजक दाहालले १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म सहकार्य गरेका दलहरूसँग पुनः मोर्चाबन्दी गरेर अगाडि बढ्नुपर्ने बताउनुभएका हो ।

उहाँले नेपाली काँग्रेस, मधेस केन्द्रित दल तथा अन्य राजनीतिक शक्तिहरूसँगको सहकार्य नै वर्तमान चुनौतीको समाधान भएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय स्वाधीनताको प्रश्न हाल अत्यन्तै पेचिलो र संवेदनशील मोडमा पुगेको उल्लेख गर्दै यसको रक्षाका लागि दलहरूबीच साझा धारणा बन्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय क्षेत्रमा पार्टीको प्रभाव र सम्बन्ध विस्तारमा विगतमा केही कमी कमजोरी भएको स्वीकार गर्नुभयो । उहाँले आगामी दिनमा विश्वका विभिन्न कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय पहलकदमीलाई थप सशक्त बनाउने निष्कर्षमा पार्टी पुगेको जानकारी दिनुभयो । 

संयोजक दाहालले भन्नुभयो, ‘देशको अहिले असाधारण जटिल राजनीतिक परिस्थिति, जसमा राष्ट्रिय स्वाधीनताको प्रश्न निकै पेचिलो, संवेदनशील र जोखिमपूर्ण अवस्थामा परेको छ, त्यसको सामना गर्न हिजो बाह्रबुँदे समझदारीदेखि शान्ति सम्झौता र संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आउन सहकार्य गरेका राजनीतिक दलहरू–नेपाली काँग्रेसदेखि मधेस केन्द्रित दलहरू तथा अन्य सबै दलहरूसँग पनि हामीले सहकार्य र मोर्चा गरेर अगाडि जानुपर्छ भन्ने कुरा ग¥यौं । साथै, हामीले अन्तर्राष्ट्रिय पहल पनि बढाउनुपर्छ भन्ने निष्कर्षमा पुगेका छौँ । अन्तर्राष्ट्रिय क्षेत्रमा जति हामीले आफ्नो प्रभाव, संगठन र सम्बन्ध विस्तार गर्दै विभिन्न देशका कम्युनिष्ट पार्टी तथा वामपन्थी शक्तिहरूसँग सहकार्य गर्नुपर्ने थियो, त्यति गर्न नसकेको महसुस गरेर हामीले त्यसलाई पनि निष्कर्षमा पु¥याउँदै अगाडि बढेका छौँ । यही क्रममा भौगोलिक प्रदेशहरूमध्ये अब बागमती प्रदेश मात्रै शपथ ग्रहणका लागि प्रदेश समितिमा बाँकी छ, र आज मधेस प्रदेशमा हामी यो शपथ ग्रहण समारोहमा उपस्थित भएका छौँ ।’
सांगठनिक अवस्थाबारे चर्चा गर्दै उहाँले भौगोलिक प्रदेशहरूमध्ये मधेस प्रदेशको शपथ ग्रहण सम्पन्न भएको र अब वागमती प्रदेशको मात्र बाँकी रहेको बताउनु भयो । मधेस प्रदेशको कार्यक्रम सम्पन्न भएसँगै पार्टीले सांगठनिक अभियानमा नयाँ गति लिने उहाँको विश्वास छ ।