एजेन्सी । काँकरोच जनता पार्टी (सिजेपी) ले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै दिल्लीको जन्तर-मन्तरमा शुरू गरेको प्रदर्शन बुधबार झनै चर्किएको छ।
बुधबार बिहानैदेखि हजारौंको संख्यामा प्रदर्शनकारीहरू जन्तर-मन्तरमा भेला भएर प्रदर्शन गरिरहेका हुन्। सिजेपीले माग पूरा नभए लाखौँ मानिस सडकमा उत्रिने चेतावनी दिएको छ। आन्दोलनलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले संसद भवन र रफी मार्ग लगायतका प्रमुख क्षेत्रमा कडा ब्यारिकेड लगाएको हाे। सिजेपीको आन्दोलन र विभिन्न राजनीतिक दलहरूको विरोध प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था चुस्त बनाउन गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बल (सिआरपिएफ) का थप २० कम्पनी दिल्लीमा तैनाथ गर्न आदेश दिएको छ।
सिआरपीएफको एक कम्पनीमा करिब १ सय जना जवान हुन्छन्। गृह मन्त्रालयले मंगलबार राति जारी गरेको आपत्कालीन आदेशपछि पश्चिम बंगालबाट सिआरपीएफका जवानहरूलाई हवाईजहाजमा राजधानी दिल्ली ल्याउने क्रम शुरू भएको भारतीय समाचार संस्था पिटिआईले जनाएको हाे।
यसबीच भारतको लोकसभाका विपक्षी नेता राहुल गान्धीले मंगलबार प्रहरी हिरासतमा रहेकै समयमा भिडिओ सन्देश जारी गर्दै सरकारसमक्ष ५ बुँदे माग अघि सारेका छन्। प्रधानमन्त्री निवास बाहिर धर्ना दिँदा पक्राउन परेका गान्धीले हिरासतमा राखिएको छत्रसाल स्टेडियमबाट भिडिओ सन्देश जारी गरेको बिबिसीले जनाएको हाे।
नेता राहुल गान्धीका ५ बुँदे माग तल उल्लेख गरिएकाे छ:
१. गृहमन्त्री अमित शाह र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा २. शान्तिपूर्ण प्रदर्शनमा रहेका विद्यार्थीमाथि कुटपिट र अपमान गर्नेमाथि कारबाही ३. आन्दोलन क्रममा विद्यार्थीहरूमाथि लगाइएका सबै मुद्दा खारेज ४. संसदमा प्रश्नपत्र लीक र शिक्षा क्षेत्रका समस्याबारे तत्काल बहस ५.विद्यार्थीहरूमाथि गरिएको दमनका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्रीले देशवासीसँग माफी माग्नुपर्ने









प्रतिक्रिया दिनुहोस्