काठमाडाैं । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ ।
नेपाल लेयर्स कुखुरापालक संघले उत्पादन घटेको तर माग बढेपछि मूल्य बढ्न थालेको हो । संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने जनाएकाे छ । बुधबारदेखि लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ४ सय ५० बाट ५ सय रुपैयाँ पुगेको हाे । मध्यम अण्डा ४ सय २० बाट ४ सय ७० पुगेको छ । सानो अण्डा ४ सय १५ पुगेको हाे । सबैमा प्रतिक्रेट ५० रुपैयाँले बढेको संघले जनाएकाे छ।
संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताउनुभयाे । दैनिक ४५ लाख हाराहारी अण्डा उत्पादन हुँदै आएकामा वर्डफ्लुका कारण घटेर २८ लाख हाराहारीमा झरेको उहाँकाे भनाइ छ।
गत जेठको अन्तिममा एक क्रेट (३० वटा) अण्डाको ५ सय ५० मा बिक्री भएकामा झरेर ४ सय ५० मा आइपुगेको थियो । एक क्रेट अण्डाको लागत मूल्य ५ सय ७३ रुपैयाँ ६० पैसा पर्ने प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने भएकाे छ । अहिले अण्डाको खपत बढेसँगै मूल्य बढ्न थालेको अध्यक्ष पोखरेलले बताउनुभयाे ।
मूल्य बढे पनि अझै किसानले लागत मूल्य पाउन सकेका छैनन् । अध्यक्ष पोखरेलले अब छिट्टै लागत मूल्य पाउने आशामा किसान रहेको समेत बताउनुभयाे। बर्डफ्लुका कारण किसानले ठूलो नोक्सानी व्यहोर्नुपरेको र प्रभावित भएका किसानलाई राज्यले राहत दिनुपर्ने संघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्