Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


बेलायतमा बिजुलीको बिलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर पूर्णरूपमा हटाउने प्रधानमन्त्री बर्नहमकाे निर्णय

बिजुलीको बिलमा लाग्ने ५ प्रतिशत कर शून्यमा झारिने

52
Shares

एजेन्सी । बेलायतमा सत्ता परिवर्तनपछि नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले मंगलबार पहिलो मन्त्रिपरिषद् बैठक राख्नुभएकाे छ।

उहाँले निवर्तमान प्रधानमन्त्री कियर स्टार्मरको टोलीलाई हटाउँदै जोन हिलीलाई अर्थमन्त्री र एड मिलिब्यान्डलाई परराष्ट्रमन्त्री नियुक्त गर्नुभएकाे हाे । ५६ वर्षीय प्रधानमन्त्री बर्नहमले पद सम्हाल्नासाथ अन्तर्राष्ट्रियस्तरमा पनि कूटनीतिक छलफल शुरु गर्नुभएकाे छ। उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोनमा संवाद गरेका हुन् । राष्ट्रपति ट्रम्पले संवादपछि व्यापार र सैन्य सहकार्यकाे बारेमा छलफल भएको बताउनुभयाे ।

यो परिवर्तनप्रति जर्मनीले पनि सकारात्मक प्रतिक्रिया जनाएको छ । जर्मन चान्सलर फ्रेडरिक मर्जले बर्नहमलाई बधाई दिँदै द्विपक्षीय ‘केन्सिङ्टन सन्धि’लाई अगाडि बढाउने र युक्रेनलाई सहयोग जारी राख्ने विषयमा सहमति जनाएको बताउनुभयाे ।जर्मनीका परराष्ट्रमन्त्री योहान वाडेफुलले बेलायत जर्मनी र फ्रान्ससँगको ‘ई–३’ कूटनीतिक ढाँचामा सक्रिय रहने अपेक्षा व्यक्त गर्नुभएकाे छ।

परराष्ट्रमन्त्री वाडेफुलले यो मञ्च इरान र युक्रेन संकट समाधानका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयाे । यद्यपि, बेलायतका विपक्षी दलहरूले आम निर्वाचन नगरी प्रधानमन्त्री परिवर्तन गरिएको भन्दै प्रश्न उठाएका छन् । यसको जवाफमा प्रधानमन्त्री बर्नहमले आफ्नो सरकारको मुख्य लक्ष्य देशमा राजनीतिक र आर्थिक स्थिरता कायम गर्नु रहेको बताउनुभयाे ।

त्यसैगरी बेलायतका नयाँ प्रधानमन्त्री बर्नहमले पद सम्हाल्नासाथ जनतालाई ठूलो राहत दिने घोषणा गर्दै बिजुलीको बिलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर पूर्ण रूपमा हटाउने निर्णय गर्नुभएकाे छ। आगामी अक्टोबर १ तारिखदेखि लागू हुने यस व्यवस्था अनुसार बिजुलीको बिलमा लाग्ने ५ प्रतिशत कर शून्यमा झारिने उहाँले निर्णय गर्नुभयाे ।