Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


नेपालमा कृषि-खाद्य प्रणाली सुदृढीकरण गर्न चिनियाँ सहयोगमा नयाँ परियोजना शुरू


13
Shares

काठमाडाैं । नेपालमा कृषि-खाद्य प्रणाली सुदृढीकरणका लागि चिनियाँ सहयोगमा नयाँ परियोजना शुरु भएको छ ।

काठमाडौंमा साेमबार एक कार्यक्रमबीच परियोजनाको शुभारम्भ गरिएको हो । नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनियाँ सरकारको आर्थिक सहयोगमा यो परियोजना शुरु गरिएको नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले बताउनुभयो । राजदूत माओमिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाईमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ।

अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनियाँ निकाय अन्तर्गतको ‘ग्लोवल डेभलपमेन्ट एण्ड साउथ–साउथ कोअपरेसन फण्ड’ मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो । परियोजना कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारले समेत समन्वय र साझेदारी गर्नेछन् ।

राजदूत माओमिङले कृषि क्षेत्र नेपालको सामाजिक–आर्थिक विकास, खाद्य सुरक्षा र गरिबी निवारणको मुख्य आधार रहेको उल्लेख गर्नुभयो । उहाँले चीन र नेपालबीचको भौगोलिक सामीप्यता र ऐतिहासिक सम्बन्धले कृषि क्षेत्रमा सहकार्यका व्यापक सम्भावनाहरू रहेको बताउनुभएकाे छ।

यसअघि पनि चीन सरकारको सहयोगमा नेपालमा विभिन्न कृषि योजनाहरू सञ्चालन भइसकेका छन् । जसअन्तर्गत ललितपुरको खोकनामा चिनियाँ तरकारी तालिम केन्द्र, झापामा पशुपालन तथा मत्स्यपालन सहयोग र चितवनमा उन्नत जातको हाइब्रिड धान खेती जस्ता कार्यक्रमहरूले नेपालको कृषि उत्पादकत्व बढाउन उल्लेख्य भूमिका खेलेको राजदूत माओमिङले स्मरण गराउनुभयो ।

यो नयाँ परियोजनाले प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदानप्रदानका माध्यमबाट नेपाली कृषकहरूको क्षमता अभिवृद्धि गर्ने र कृषि क्षेत्रको उत्थानशीलता बढाउने लक्ष्य राखेको हाे । यस सहकार्यले सन् २०३० सम्मको संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने र नेपाल–चीन मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ ।