Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


नेपाली भाषा र साहित्यको सम्वर्द्धन नै आदिकवि भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल

युवा पुस्तालाई नेपाली साहित्यप्रति आकर्षित गर्नुपर्नेमा जाेड

26
Shares

काठमाडाैं। सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नु सबैको सामूहिक जिम्मेवारी भएको बताउनुभएको छ ।

काठमाडौंमा साेमबार २१३ औं भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा मात्र सीमित नराखी, त्यसलाई आत्मसात गर्दै भाषा र साहित्यलाई थप समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयाे । सभामुख अर्यालले आधुनिक प्रविधि, विश्वव्यापी प्रतिष्पर्धा र परिवर्तनशील सामाजिक संरचनाकाबीच हाम्रो मौलिक पहिचान र संस्कृतिलाई जोगाउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभएकाे छ।

भानुभक्तले देखाएको सरलता, स्पष्टता र जनस्तरसँगको सामीप्यता आजको समयमा पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्दै सभामुख अर्यालले युवा पुस्तालाई नेपाली साहित्यप्रति आकर्षित गर्नुपर्नेमा जाेड दिनुभयो । उहाँले सृजनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै भानुभक्तका आदर्शलाई समय सापेक्ष रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएकाे छ । भानुभक्तको सम्मानमा गरिने हरेक कार्य नेपाली राष्ट्रियताको रक्षा र मौलिकताको परिचायक हुने उहाँको भनाइ थियाे।

सभामुख अर्यालले नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने दुई श्रष्टालाई सम्मान समेत गर्नुभएकाे छ। सम्मानित हुनेहरूमा वरिष्ठ साहित्यकार महेश्वर शर्मा र संस्कृतिविद् डा. आना एम सिस्टर रहेका हुन् ।