काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री र सरकारको कामकारवाहीकाे बारेमा सर्वत्र आलोचना बढिरहेकाे समयमा आइतबार सभापति लामिछाने निवास बुढानीलकण्ठमा दुई नेताबीच करिब ४ घण्टा छलफल भएको हो । छलफलमा नेताहरुबीच पछिल्लो विकसित घटनाक्रम, पार्टीको केन्द्रीय समिति र पदाधिकारी मनोनयन, मन्त्रिपरिषद हेरफेर र संविधान संशोधनको विषयमा छलफल भएको जनाइएकाे छ। स्रोतका अनुसार भेटमा सुकुम्बासी समस्या र गणेश नेपालीको आत्मदाह लगायत विषयमा गम्भीर रुपमा छलफल भएको थियो ।
प्रधानमन्त्री शाह प्रमुख स्वकीय सचिव कुमार बेन, सचिवालयका सदस्य सुवास शर्मा र विवेक मिश्रका साथ बुढानिलकण्ठ पुग्नुभएको थियो । सभापति लामिछानेले प्रधानमन्त्री शाहलाई सुकुम्बासीको व्यवस्थापनमा गम्भीर हुन सुझाव दिएको स्रोतले जनाएकाे छ। सरकारको काम गर्ने शैली नमिलेको समेत सभभापति लामिछानेको टिप्पणी थियो । प्रधानमन्त्री शाहले भने पार्टीको पदाधिकारी मनोनयन लगायतका विषयमा सभापतिसँग अपडेट माग्नुभएको थियो ।
सभापति लामिछानेले पदाधिकारी मनोनयन छिट्टै गर्ने उल्लेख गर्दै नाम दिन प्रधानमन्त्री शाहलाई भन्नुभएको थियो । प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच सरकारको सय दिनको काम र छिमेकी मुलुकसँगका सम्बन्धको विषयमा पनि संक्षिप्त रुपमा कुराकानी भएको स्रोतले जनाएकाे छ। त्यसैगरी, संसदमा प्रधानमन्त्री शाहको उपस्थितिलाई लिएर पार्टीकै सांसदबाट उठ्ने टिप्पणी,सरकारविरुद्ध आफ्नै दलका केही नेताले सार्वजनिक रूपमा असन्तुष्टि जनाइरहेको विषय र अनुशासन कायम गर्ने आवश्यकताकाे बारेमा पनि दुई नेताबीच छलफल भएकाे जनाइएकाे छ।
छलफलमा संविधान संशोधनका विषयमा समेत सामान्य छलफल भएकोसमेत स्राेतले जनाएकाे हाे









प्रतिक्रिया दिनुहोस्