काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्तीकाे अवसरमा साेमबार देश एवं विदेशमा पनि विविध कार्यक्रमको आयोजना गरेर मनाइँदैछ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाउनुभएकाे हाे । उहाँले लेखेको रामायण अहिले पनि नेपालीको घर-घरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको इतिहास रहेकाे छ । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान र बर्मा लगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ ।
१८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएकाे थियाे। त्यसैगरी, ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचना लगायत उहाँका कृति छन् । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।
आदिकविको स्मरण गर्दै साेमबार उहाँको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिने भएकाे छ।घरघरमा उहाँले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् ।
साेही अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले यस दिन विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदैछन् । भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद्लगायतका संघ-संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन्।









प्रतिक्रिया दिनुहोस्